क्रान्तिकारी–चेतका कवि



मोहन दुवाल
र्वजन हिताय सर्वजन सुखायमै स्वान्त सुखाय हुने हुन्छ र कला कलाको निम्ति मात्र नभई कला जीवनको निम्ति हो र हुनुपर्छ भन्नेबारे मेरो दृढ धारणा छ । तर यसो भन्नुको तात्पर्य साहित्य एवं कलामा फोटोग्राफीको पक्षमा म छु भन्ने होइन, नकि उपदेश वा वक्तव्य अथवा नाराबाजीलाई, न शाब्दिक अभिव्यक्तिको शिल्पकारीलाई नै म कविता ठान्छु । कविता त भौतिक जगत्का घात–प्रतिघातद्वारा मानसिक बुद्धि र हृदय दुवैमा उत्पन्न संघाटको भाषिक अभिव्यक्ति हो । भनेर साहित्यको परिभाषा दिई आफ्नो साहित्यिक भावना फुकाउने कवि पवन चामलिङ (किरण) को जन्म सन् १९५० सेप्टेम्बर २३ मा राङगोङ बस्ती, दक्षिण सिक्किममा भएको थियो । भालेढुंगाको काखमा अवस्थित सानो गाउँको नाम हो राङगाङ । यही गाउँमा माता आशारानी र पिता आशबहादुर चामलिङका छोरा भई जन्मेर यहीँकै परिवेश, वातावरण र प्रेरणाले गर्दा नै अन्तहीन सपनाः मेरो विपनाले साकार रूप लिन सकेका स्वीकार गर्छु भनी कवितामा आफ्नै दर्शन, भावना र शैली बोकेर देखा परेका कवि पवनको ‘म को हुँ सबैभन्दा पछि प्रकाशित कवितासङ्ग्रहको नाम हो । नेपाली साहित्यमा सिक्किमको प्रतिनिधित्व गर्ने एकजना प्रमुख कविको रूपमा मात्र होइन, नेपाली कविता साहित्यकै क्षेत्रमा विशिष्ट कवि व्यक्तित्वको रूपमा कवि चामलिङलाई उनकै कविताको भावभूमिमा राखेर मूल्याङ्कन गर्न सकिन्छ ।

राजनीति र साहित्यलाई समान ढङ्गले आफ्नो कार्यक्षेत्र बनाउन रूचाउने पवन चामलिङले सन् १९६८ देखि नै कविता लेख्दै आएको देखिन्छ । ‘वीरको परिचय कविता लिएर सर्वप्रथम काव्यक्षेत्रमा देखा परेका पवन चामलिङले सिक्किमको मुख्यमन्त्रीसम्म भएर आफ्नो राजनीतिक छवि पनि देखाइरहेका छन् । उनको अन्तहीन सपनाको एउटा महत्वपूर्ण पाटो हो साहित्य । त्यसैले उनी मुख्यमन्त्रीजस्तो पदमा रहेर पनि साहित्यिक चिन्तन व्यक्त गर्ने सवालमा, आफ्ना कृतिहरू प्रकाशन गर्ने अभियानमा र महत्वपूर्ण साहित्यकारहरूका साहित्यिक कृतिहरू प्रकाशन गर्ने आन्दोलनमा सक्रिय र अग्रपंक्तिमा रहेर आफूलाई चिनाइरहेका छन् । उनकै सक्रियतामा पारिजातका सम्पूर्ण कृतिहरूलाई ६ खण्डमा सङ्कलित गरी निर्माण प्रकाशनका तर्फबाट सिक्किमबाट प्रकाशित भएको छ । सबै ग्रन्थहरूमा सान्दर्भिक र उल्लेख गर्न लायक भूमिकासमेत लेखिदिएर कवि पवन चामलिङले एक लगनशील साहित्यकर्मीका रूपमा आफूलाई साबित गरी देखाइदिएका छन् ।

नेपाली साहित्यका फाँटमा कवि चामलिङका प्रकाशित कविता सङ्ग्रहहरूमा १) अन्तहीन सपनाः मेरो विपना, २) प्रारम्भिक कविताहरू र ३) म को हुँ प्रकाशित छन् । अङ्ग्रेजीमा पनि एउटा कवितासङ्ग्रह प्रकाशित छ । दामयाङ हिजो र आज (परिचय), केही सम्झना केही माया (संस्मरण) र क्रान्तिको प्रवेश (अभिलेखसङ्ग्रह) प्रकाशित छन् । कवितामा कवि चामलिङको आफ्नै किसिमको छुट्टै विशेषता र पहिचान छ । सर्वसाधारण जनताकै पक्षकै कविजस्तै देखा परेका कवि चामलिङको कवितामा भाषामा सरलता र विचारमा जनपक्षीयता व्यक्त भएको पाइन्छ । उनका कविताहरूमा सामाजिक असमानताको विरोधमा विद्रोह बोलेका छन् । अन्याय, अत्याचार, शोषणको खिलापमा बुलन्द हुँकार अभिव्यक्त छन् र मानवीय संवेदनाको तीखो अनुभूति पोखिएका छन् ।

पवन चामलिङ ‘किरण सिक्किमका मुख्यमन्त्री मात्र नभई सिक्किमकै एक प्रख्यात कवि, प्रतिष्ठित साहित्यकारकै नाम पनि भइदिएका छन् । सिक्किममा साहित्यिक कृतिहरू लेखेर सेवा पुर्याउन निरन्तर लागिरहेका पवन चामलिङले नेपाली भाषा साहित्य उत्थानमा उल्लेखनीय योगदान पुर्याएका छन् । सिक्किमजस्तो भारतको अति विकट क्षेत्रको मुख्यमन्त्रीजस्तो अति जिम्मेवार पदमा रहेर पनि पवन चामलिङले साहित्यको विकासमा महत्वपूर्ण योगदान जुन पुर्याएका छन्, त्यो स्तुतियोग्य र स्मरणयोग्य छ ।

जसले जिन्दगीभर शोषण, दमन, अन्याय, अत्याचार, गरिबीसँग जुझेका छन्, भोक, रोग र शोकसँग लडेका छन् उनीहरूका मुक्ति, सुरक्षा र शान्तिको निमित्त मैले कविता लेखेको छु भनी आफ्नो कवितासङ्ग्रह म को हुँ ? मा समर्पण भावको मन्तव्य लेख्ने साहित्यकार पवन चामलिङले नेपाली भाषा र साहित्यको उत्थानमा आफूले सक्दो योगदान सिक्किमको माटोमा कन्जुस्याइँ नगरी प्रदान गरेका छन् । उनले सक्दो साहित्यिक योगदान पुर्याउनुका साथै राम्रा–राम्रा कविताहरू लेखेर सम्पूर्ण भारतीय नेपाली कविता क्षेत्रमा आफ्नो छुट्टै व्यक्तित्व निर्माण गरिसकेको तथ्य उल्लेख्य पक्ष हुन् ।

सामाजिक मूल्य र मान्यताप्रतिको इमानदारिता, युगबोध, जनपक्षीय न्यायको समर्थनमा उनका कविताहरू उज्यालिएका छन् । भावविम्बको समायोजन, सटिक शैली, सरल अभिव्यक्ति र मानवतावादी दृष्टिकोणको भाव सम्प्रेषण नै कवि चामलिङका कवितामा पाइने विशेषता हुन् । कवितामा कवि अनुभूति यसरी पोख्छन्– अन्धकारको विरोधमा एकमुठी उज्यालो भाइचारामा फैलिएको हातभरि समाएर अन्याय र असत्यको जंगलमा, मानवताको हतियारले दानवताको बूढो रूख काट्दै छ (म योद्धा युद्धको) कवि मानवताकै लागि सङ्घर्षरत छन्, मानवताकै विरोधमा जुट्ने दुश्मनहरूसँग कवितामा, व्यवहारमा र विचारमा द्वन्द्व व्यक्त गर्दै मानवताकै खातिर अन्तिम युद्ध लड्ने चाहना व्यक्त गर्छन् ।

अन्धकारको विरुद्ध उज्यालो प्रकाशकै लागि उनी कवितामा आफ्नो चिन्तन पोख्छन् । खराब प्रवृत्ति बोक्ने मान्छेहरूको हुल बढेको देखेर कवि चामलिङ मान्छेलाई नियालेर हेर्नुपर्ने, मान्छेलाई चिन्नुपर्ने प्रसङ्ग कवितामा यसरी व्यक्त गर्छन्– मान्छे त आँखाले हेरेर चिन्न नसकिने रहेछन् मान्छे त अर्कै केही रहेछन्
मान्छेलाई चिन्न त साह्रो रहेछ (मान्छेलाई मुटुको ओठले छाम्दा)
कवि समाजका भोक्ता र द्रष्टा पनि हुन् । समाजमा व्याप्त अन्यौलत,ा देशमा व्याप्त रोग, भोक, शोकप्रति एकज चेतनशील कवि अवश्य चिन्तित हुन्छ ।

त्यसैले कवि चामलिङ पनि देशकै सन्दर्भमा आफ्नो चिन्तन यसरी व्यक्त गर्छन्–
खाऊँ खाऊँ, लाऊँ लाऊँकै उमेरमा शिथिल भएर झोक्रिएको अपूर्णता र गरिबीको अवशेष तिम्रो र मेरो देश । (तिम्रो र मेरो देश) कवि चामलिङ ‘किरण साधारण भाषामा अनुभूति पोख्ने सर्वसाधारण जनताका कवि हुन् । कविका कविताहरूबाट भन्न सकिन्छ– उनका कविताहरूमा सिर्फ कविता मात्र छैनन्, कवितासँगसँगै मान्छेकै लागि समर्पित भावना र विचार पनि प्रवाहित छन् ।

कवि चामलिङ आफ्नो माटो, जाति र चेतनाकै लागि सङ्घर्ष गर्न रुचाउने विशिष्ट कवि हुन् । भारतमा बसोवास गरे तापनि नेपालमै बसोबास गरेका नेपालीजस्तो देखिने, नेपाल बाँचेको र हाँसेको हेर्न रुचाउने कवि पवन चामलिङको भाषामा हाम्रो कथा–व्यथा एउटै प्रकारका छन् । उनी निर्माण साहित्यिक पत्रिकाको स्तरीय प्रकाशन गरेर आफूलाई सफल साहित्यिक पत्रकारको रूपमा चिनाउन पनि सफल छन् । पवन चामलिङ यस अर्थमा सफल राजनीतिज्ञ हुनाका साथै साहित्यिक सङ्गठक, साहित्यिक सम्पादकका रूपमा पनि विख्यात् छन् ।

प्रतिक्रिया दिनुहोस्