जीवाको जुहारत



(कमल ढकाल) भैरै भाषा बोल्न सक्ने खुबी हुनु सम्पत्ति हो । तर जतिसुकै भाषा आओस् अनावश्यक कुरामा चुप लाग्ने खुबी हुनु झनै अमूल्य सम्पत्ति हो । आजको नेपाली माँझ चर्चित व्यक्ति जीवा लामिछाने संसार घुमेका छन् । धेरै भाषाहरू आउँछ र पनि कम बोल्छन् । यो महान्वाणी उनलाई हेरेर पो बनेछ कि जस्तो लाग्छ उनलाई भेट्दा । मुसुमुसु हाँस्छन् बढी । बोल्छन् कम । यही नै जीवाको जीव रस हो ।

परिबन्द, परिवेश र प्रेरणाले मान्छे नयाँ बन्छ । जीवनभर यी तीन कुरामा मान्छे घोटिन्छ । विकासको यो तीन प लाई पर सारेर अगाडि बढ्न खोज्दा मान्छे पछाडि आउँछ । जीवाको जीवनमा अर्काे एक प छ । पदमपुर । जुन उनको जन्म गाउँ हो । चितवनको पदमपुर डरसँग लुकामारी खेल्ने गाउँ थियो । त्यो गाउँको जन्मले उनलाई साहसी बनायो । हो पनि डरसँग जसले लुकामारी खेल्छ त्यो साहसी हुन्छ ।

राप्तिको बाढी र चितवन जंगलका जंगली जनावरहरू उनका बाल्यकालका अनुभवहरू हुन् । जसलाई देख्दा र सुन्दा मान्छेको सातो जान्छ त्यसलाई भोगेर उनी हुर्के । हाम्रो कृषिप्रधान देशको बिडम्वना किसान कहिल्यै धनी नहुनु हो । त्यो बाढी र जंगली जनावरभन्दा पनि डरलाग्दो थियो जीवाको किसानी बाल्यकाल । किसान बाबु खेमलाल र आमा हरिकलाका चौथो सन्तान हुन् जीवा । आज उनका दुई छोरा हुर्किसके । जीवाका बाबुले ट्याक्टरले खेत जोते । जीवाले बुद्धिले किताब जोते । त्यसैले त बाबुको सन्तान र उनको सन्तानमा आनको तान फरक भयो ।

पदमपुरकै टोलको स्कुल हँुदै भीमोदय निमावि अनि नेपाल मावि रत्ननगर टाँडीबाट एसएलसी दिएको जीवाको कथा र उनका कान्छा छोरा अनुकृत जर्मनमा पढेको कथा फरक छ । जति जर्मन नेपालबीच फरक छ दुई पुस्ताको कथा त्योभन्दा बढी फरक छ । उनको १८ वर्षे जेठा छोरा अनुरागले अमेरिकाको कर्नेल युनिभर्सिटीमा पढेको कथा र उनले त्रिभुवन विश्वविद्यालय पुल्चोकमा पढेको कथा अमेरिका र नेपालभन्दा फरक छ । जीवाले प्रथमका प्रथम भएर रसियामा स्कलरसिपमा पढ्न गएको कुरा उनकै छोराहरूलाई फरक कथाको मानक बनेर बसेको छ । यीनै फरकपनले जीवाको जीवन फरक बनेको छ । ३३ वर्षअगाडि फस्ट डिभिजन ल्याउनु चानचुन हैन हात्ती भएको नोट पाउनुजस्तै गाह्रो थियो । गाह्रोलाई सजिलो बनाउने सूत्रलाई जीवाले जीवनपथ बनाए । र त जीवाले आफ्नै छुट्टै जीव विज्ञान कोरे ।

उमेरले हैन । जिम्मेवारीले मान्छे परिपक्व हुन्छ । सानैमा टुहुरा भएका दुई बच्चा छन् । बुबाआमा नहुँदा त्यहीमध्येको ठूलो बच्चाले सानो बच्चालाई खुवाउने कपाल कोरिदिने स्कुल पठाउने सबै गरिहेको हामीले देखेका छौं । अनि सोह्र वर्षसम्म पनि केही काम नआएर सानो बच्चै भइरहेको पनि हामीले देख्छौं । घटनाले सानैमा जिम्मेवार बन्छ मान्छे । जीवाले पनि कलिलैमा रसिया गएकाले जिम्मेवार बन्न सिके । किसान बाबुसँग उनले केही माग्न सक्थेनन् । घरको जिम्मवारी बुझ्दै उनले पढ्नुमा पीडा थियो । छोराहरूले अहिले पढेको कुरा पेडाजस्तो छ । पीडा र पेडामा भएको फरकजस्तै उनी र उनको दोस्रो पुस्तामा फरकपन आइसक्यो ।

किन ?
किनकि जीवा आजको नेपाली जीवनजगतका एक धनाढ्य नेपालीमा गनिन्छन् । आफूले आफ्नै जीवनलाई पीडामा डुबाएर उनले जीवनको पेडा प्राप्त गरेका हुन् । रसियामा भाषा नबुझ्दाको हैरानी । कोही नहुँदा घर आउन मन लागेको कथा । व्यापारमा लाग्दाका शुरूका दिनहरू । पढाइ, व्यापार दुबै छाडौं कि जस्तो हुँदा पनि छाड्न नसकेको कथा यी सबै आफूलाई पीडामा डुबाएका समय हुन् ।
२०४९ मा इन्जिनियरिङमा मास्टर गरेका उनी यता हुन्छ कि उता हुन्छ कि भनेर भौतारिँदा व्यापारमा आए । व्यापार चिज नै अपार हो । उनलाई पनि अपार भयो । उनको कोमल हृदय व्यापारमा फिट नभए पनि नाफा नोक्सानको हिसाबकिताब राखेर इमान्दारपूर्वक मेहनत गर्दा उनी आजको नेपाली व्यापारीको नम्बरिङमा पर्न सफल छन् । उनकै कारण सयौंले रोजगारी पाएको कुराले उनी आफूले कमाएको पैसाभन्दा बढी खुसी छन् ।

रुसमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निक्कोन आदि ब्रान्डका कन्जुमर इलेक्ट्रोनिक्स सामानको आधिकारिक बिक्रेताबाट शुरू गरेको व्यापार अनेकौं हन्डर ठक्कर ब्यहोर्दै आज दुबईमा रियल स्टेट, जर्मनीमा होटल, नेपालमा बैंकिङ, शिक्षा, स्वास्थ्य, मिडिया, जलविद्युत् आदि क्षेत्रमा आइपुगेको छ ।

जीवनयात्रा आफ्नो लागि मात्र हैन । अरूका लागि पनि हो । एक आरुको बोटले त वर्षै पिच्छे जति ढुंगा खाए पनि, चिसो, तातो झेले पनि फलिरहन्छ । फल्न छाड्दैन । प्रकृति र मान्छेले मान्छेलाई धेरै कुरा सिकाइरहेको हुन्छ । लिन मात्र हैन दिन पनि प्रकृतिले सिकाउँछ । जीवाले पनि प्रकृतिबाट पाएको यही प्रेरणाको धुप बालिरहेका छन् ।

साहित्यका अनुरागी उनले छोराको नाम अनुराग मात्र राखेनन् । बुबा, आमा र गाउँको सम्झनामा साहित्यिक पुरस्कार राखेका छन् । जुन अरूले अनुकरण गर्न लायक काम हो । दर्जनौं सामाजिक संघसंस्थालाई माथि उठाउन सहयोग गरिरहेका छन् । एनआरएनका निर्विरोध अध्यक्ष भएर काम गरिसकेका जीवालाई सरकारले आर्थिक सल्लाहकार कमिटी, लगानी बोर्डको सदस्य बनायो । रसिया नेपाल चेम्बर अफ कर्मसका आजीवन सदस्य रत्ननगर चेम्बर अफ कमर्सका सल्लाहकार पनि हुन् उनी ।

नाम, दाम र इनाम उनले प्रशस्त पाएका छन् । सरकारले तीन वर्षअघि मात्र उनलाई प्रवल जनसेवाश्री सम्मान गरेको छ । अरू दर्जनौं सम्मानका खात उनको कोठामा भेट्न सकिन्छ । रसिया उनी बिर्सन सक्दैनन् । जहाँबाट उनको जीवनको जग बन्यो । श्रीमती, व्यापार र शिक्षा रसियाबाटै शुरू भए । जनकपुरकी बिन्दिता जीवाको जीवनमा रसियामा आइन्। मस्कोमा मेडिकल पढिरहेकी बिन्दितासँग २०५३ सालमा भएको विवाह डक्टर र इन्जिनियरको जस्तो विज्ञ विवाह मात्र हैन । सन्तहरूको जस्तो समझदार पनि छ ।

जीवनमा जीवाको गुनासो छैन । जीवन जुगानुजुग रहँदैन । जीवन ज्योति भने रहन्छ । यही बुझेर आफूले बटुलेको ज्योति साहित्यमा छर्दै छन् जीवा । अबको केही दिनमा उनले घुमेको संसारको यात्रा संस्मरण ‘सरसर्ती संसार आउँदै छ । व्यापारमा दर्जन कम्पनी पुगिसके । साहित्य र व्यापारलाई मिलाएर उनी यो जीवात्मा जीवात्मा खोजिरहेका छन् । जीविकाका लागि जीविकोपार्जन गर्न जगत डुले पनि पछि आफ्नै देशमा अवशेष छाड्न चाहन्छन् । जीवनोदयदेखि जीवनको जुइनु जोड्न जुक्ति निकाल्दै जंग छेडेका जीवाको जीवनसंघर्षको जुग जुगान्तर रहने नै छ । यो कथा पनि जीवाको जुगको कथा हो । अरू धेरै कथा रच्दै उनी जीवनजगतमा नाम झै दुई टुप्पालाई जोड्ने सरल रेखामा हिँडेका छन् । जीवनको जुहारत जानेर । माथिको सबै कथा जीवाको जुहारत हो ।

प्रतिक्रिया दिनुहोस्