सुसेलीका गीत तरङ्गहरू

81

सरद श्रेष्ठ
मनमा आँसु र हाँसो नहुने मान्छेहरू को होलान् र ? मान्छेको मनभित्र स्वाभाविक रूपले कहिले आँसु त कहिले हाँसोका सम्प्रेषण भइरहने गर्छन् । यिनै त हुन् मानवीयताभित्रका प्रसङ्गहरू । मान्छेमा मान्छे खोज्दै गर्दाका कविताहरूमा आँसु र हाँसोको सङ्केत देखा नपर्दाका क्षणहरू रुखा र सुख्खा देखिन्छन् । यसै सन्दर्भमा राखेर सूर्यप्रसाद लाकोजू र उनले कोरेका गीतका हरफहरूमा सुसेलीलाई छामिरहेछु ।

सूर्यप्रसाद लाकोजू एक चेतनशील सक्रिय युवा स्रष्टा हुन् । पनौतीमा जन्मेर साहित्यको प्रगतिका लागि उनले पुर्याइदिएका सिर्जनशील भावना र उच्छ्वासहरू महत्वपूर्ण हुँदै गएका छन् । युगको आवश्यकतामा व्यक्ति जन्मिने होइन, व्यक्तिको सदिच्छाबाट मात्र युगको आवश्यकता पूरा हुँदै जाने हो । सूर्यप्रसादले युगका लागि, समाज परिवर्तनका लागि, जनमनलाई अक्षरमार्फत जागरण गर्न र गराउन प्रयत्न फुकाउँदै छन् । उनको यो अक्षरयात्रा मनोरम र स्वणर््िाम बन्दै गएको छ ।

कवितामा माया–प्रेम, देशप्रेम र त्यस्तै मानवीय प्रेमलाई सौन्दर्यात्मक, लयात्मक र कलात्मक बनाउन सकिन्छ । त्यसैले हामीबाट अर्थात् कविता विम्ब कोर्न रुचाउने जो–कोही कविहरूले यी सटिक प्रश्नहरूको जवाफ खोजेर जीवन दृष्टि सार्थक बनाउने क्रममा आफूलाई समर्पित तुल्याउनुपर्छ । सुन्दरतालाई नियाल्न मिल्छ, कञ्चनतालाई मनभित्र गाँस्न मिल्छ । स्वच्छतालाई आँखामा समेट्न सकिन्छ । यस्तै चाहकै प्रस्फुरण बनेको छ यो पुस्तक ।

कवि, लेखकहरू धन्य र अविष्मरणीय हुनका लागि देश, काल, परिस्थिति, समाज, घटनाबाट प्रभावित प्रसङ्गहरूलाई प्रभावकारी ढङ्गले सम्प्रेषित गर्न सिक्नुपर्छ । माया गर्न जान्नुपर्छ, प्रेममा कञ्चनता सिंचन गर्न मिल्छ, यस्तै–यस्तै भावनाका तरङ्गहरू हुन् सुसेली ।

मन नै त सबैथोक हो । मनको नाता नै त ठूलो हो । कवि सूर्यप्रसाद लाकोजू कविता अक्षरमा यसरी गीत भएर माया र मनको कुरा गर्छन्ः

घृणा रोपे काँडा फुल्छ माया रोपे फूल
प्रेम श्रद्धा हामी बीचको मानवताको मूल बन्द गरौं आजैबाट इष्र्या पस्ने दुलो
तनको नाताभन्दा पनि मनकै नाता ठूलो । (मनको नाता ठूलो)
चोखो माया कसैका लागि पनि हानिकारक नहुने भएकै कारणले यस खालको माया सधैँ सबै ठाउँमा सबैका लागि प्रिय हुन्छन् । कवि आफ्नो मायालाई चोखो बनाउन चाहन्छन् र हृदयभरि प्रेम फुलाउन चाहन्छन् । उही चाहनुकै क्रममा उनी कवितामा यसरी लेख्छन्ः

हाम्रो चोखो मायाभित्र सुन्दर मीठो धुन छ
हृदयभरि प्रेम फुलाउन तिम्रो ठूलो गुन छ । (जीवन साथी) श्रमप्रति माया पोख्ने कवि, देश दुख्दा चित्त दुखाउने कवि, मान्छे भत्किँदै गएकोमा मन दुखाउने कविले कवितामा यसरी विम्ब खोपेका छन् जुन सान्दर्भिक देखिन्छन्ः

धनको मान्छे वनको मान्छे मनको मान्छे रहेन लुटेर खाने, ढाँटेर खानेले श्रमजीवीलाई सहेन । (विश्वासको खडेरी)

प्रस्तुत उदाहरणका केही पङ्क्तिहरूले बताउँछन्– कवि सूर्यप्रसाद लाकोजू सामाजिक–चेत भएका चेतनशील स्रष्टा भएकै कारणले यस सुसेली गीतिसङ्ग्रहमा माया प्रेमभित्र पनि स्वच्छता, सुन्दरता खोज्न तल्लीन छन् । त्यति मात्र नभई कविले माया–प्रेमका उद्गारहरू पोख्दापोख्दै देश, समाज र जनताको पक्षमा पनि आवाज बुलन्द राखेका छन् । कविका भावनाहरू उज्यालो देखिएकै कारणले कविता, गीतमा पनि उज्यालोको स्पर्श देखिएका छन् ।

साहित्यलाई कर्ममा, अक्षरको मर्ममा राख्न भरमग्दुर प्रयत्नरत रहँदै आएका कवि भाइ सूर्यप्रसाद लाकोजूको यात्रा प्रगतिको शिखर चुम्न खोजिरहेछन् । सम्भावनाका यात्री सूर्यप्रसाद लाकोजू अक्षरमा, साहित्यमा कर्म भई फुल्न सकून, यात्रा अनन्त रहोस्, शुभकामना छ ।

LEAVE A REPLY