आयोजक फाइनलमा



बिर्तामोड, (नेस)
झापाको शरणामतीमा जारी प्रथम शरणामती गोल्डकप फुटबल प्रतियोगिताअन्र्तगत शुक्रबार भएको खेलबाट आयोजक शरणामती फ्रेन्डस् क्लब फाइनलमा प्रवेश गरेको छ।

आयोजकले कनकाई खेलकुद प्रतिष्ठान (कासा) लाई २–० गोल अन्तरले हराएको हो। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा कासाले गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्यो। आयोजकका लागि पहिलो हाफको २६औं मिनेटमा जय गुरुङले पहिलो गोल गर्दै अग्रता दिलाए। डिबक्स एरियाबाट रक्षा पङ्क्तिका खेलाडीलाई छल्दै उनले गरेको आकर्षक प्रहारलाई कासाका भरपर्दा गोलरक्षक जनम मगरले बचाउन सकेनन्।

दोस्रो हाफको २८औं मिनेटमा गणेश हेमरमले शरणामतीका लागि अर्को गोल गरे। उनले कासाका गोलरक्षक मगरलाई बिट गर्दै आकर्षक गोल गरेका थिए। खेलमा पहिलो गोल गरेका गुरुङ नै म्यान अफ दी म्याच घोषित भए। उनलाई समाजसेवी टङ्कबहादुर कार्कीले नगद २५ सय रुपियाँसहित ट्रफी प्रदान गरे।
शनिबार हुने अन्तिम सेमिफाइन खेलमा रमपम झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्