मुसा थुन्ने खोर



राजधानीको माइतीघर मण्डलाबाट भद्रकाली निस्कने छोटो बाटो केहीअघि खुलेकोमा अहिले त्यहाँबाट सवारी साधन छिर्न दिने तर निस्कने बेलामा पुर्जी काट्ने गरिएको कुरा नबुझेर धेरैले धरहरावरपर आएर गुनासो गरेको सुनिएको छ। त्यसले दूरी घटाउनुका साथै सिंहदरबार साइड्को जाम घटाउन पनि मद्दत गरिरहेको थियो। तर, पछिल्लो समयमा मण्डलानेरबाट छिरेका सवारी साधनलाई मन्दिरनेर पुगेपछि पुर्जी काट्ने गरिएको थुप्रैले यो धरहराको फेदैमा बसेर गुनासो गरेका छन्।

नचलाउने हो भने यहाँबाट प्रवेश निषेध भनेर सूचना राख्नु, होइन भने किन पुर्जी काट्नु भनेर उनीहरूले गुनासो गरेको देखिएको छ। खास कुरा के हो त्यो त ट्राफिक प्रहरीले नै जानून्। तर, त्यो बाटोतिर पहिला यो धरहराले दूरबिन सोझ्याउँदा मानिसहरू रमाउँदै हिँडेको देखिन्थ्यो। किनकि त्यताबाट छोटो समयमा पनि पुग्ने अनि जाम पनि नहुने। तर , अहिले किन त्यताबाट हिँड्नेलाई तर्साइएको होला भनेर धरहरालाई पनि ताजुब लागेको छ।

यो त मुसा मार्न प्रयोग गरिने खोरजस्तो पो भएछ। मीठो कुरा देखाएर मुसालाई लोभमा पार्ने अनि खान शुरू मात्रै के गरेको हुन्छ त्यसलाई खोरमा थुन्दिने।त्यो बाटो त कमाई गर्ने माध्यम पो बनेको हो कि के हो कसैकसैका लागि ? त्यसरी खुलेआम कमाइधन्दा गरिएको कुरा प्रहरीका हाकिमहरूलाई र गृहमन्त्रीलाई पनि थाहा नभएको त होइन होला ? कि कोसेलीपातो उहाँहरूसम्म पुगेर पो हो कि ? के रहेछ केही दिन पर्खिम् है पाठकबृन्द। असली कुरा पत्ता लगाएर यो धरहराले पुनः यहाँहरूलाई जानकारी गराउनेछ।

प्रतिक्रिया दिनुहोस्