इन्डोनेसियामा शक्तिशाली भूकम्प करिब १ सय जनाको मृत्यु, सयौं घाइते



पिडाय जाया, इन्डोनेसिया, (एजेन्सी)

इन्डोनेसियाको आसेह प्रान्तमा बुधबार आएको ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब १ सय जनाको मृत्यु भएको र अन्य सयौं घाइते भएका छन्। भूकम्पका कारण भत्केका थुप्रै घरहरुमा फसेकाहरुको जीवित उद्धारका लागि उद्धारकर्मीहरुले खाली हातबाटै भग्नावशेष हटाइरहेको जनाइएको छ।

साँझको उज्यालो रहँदासम्म चिकित्सकीय स्वयंसेवकहरु घाइतेलाई अस्पताल पुर्याउनमा व्यस्त थिए। आसेह प्रान्तीय सरकारले जारी गरेको पछिल्लो विज्ञप्तिमा ९७ जनाको मृत्यु भएको र ५ सयभन्दा धरै घाइते भएको उल्लेख गरिएको छ। सुमात्रा द्विपको उत्तरी भाग आसेहमा संकटकालीन अवस्था घोषणा गरिसकेको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका सुतोपो नुग्रोहोले जानकारी दिए।

‘हामी अहिले पीडित तथा सम्भावित बचेकाहरुको खोजीमा केन्द्रित छौं। –नुग्रोहोले बताए। उनको निकायले मृतक संख्या ९४ पुगेको उल्लेख गरेको छ।सन् २००४ डिसेम्बर २६ मा आएको महाभूकम्प र सुनामीले आसेहको प्रान्तीय राजधानी बान्दा आसेहलाई ध्वस्त पारेको थियो। उक्त सुनामीमा हिन्द महासागरको तटीय इलाकामा मात्र २ लाख २६ हजारको मृत्यु भएको थियो।भूकम्पले क्षतिपुगेका भवनहरु पराकम्पनका कारण भत्किनसक्न भएकाले अधिकारीहरुले नागरिकहरुलाई घरबाहिरै सुत्न आग्रह गरिरहेका छन्। राष्ट्रपति जोको विडोडोले बिहीबार उक्त क्षेत्रको भ्रमण गर्न सक्ने उनका सहायकले सञ्चारमाध्यमहरुलाई बताए।

बुधबार आएको बान्दा आसेहबाट १ सय ७० किलोमिटर दूरीमा रहेको प्रान्तको पूर्वी तटीय इलाकालाई हल्लाएको हो। नुग्रोहोले १ लाख ४० हजार आवादी रहेको आसेहको पिडाय जाया भूकम्पबाट अत्यधिक प्रभावित भएको जानकारी दिए।भूकम्पबाट घाइते हुनेमध्ये धेरैजसोको हड्डी भाँच्चिएको र घाउचोट लागेको जनाइएको छ। उनीहरुको उपचार अस्पतालको लबी र प्रकोपपछि टाँगेका टेन्टभित्र भइरहेको रोयटर्सका प्रत्यक्षदर्शीले जानकारी गराएको छ।

टेलिभिजन प्रसारित दृश्यमा भूकम्प प्रभावित इलाकामा मस्जिदहरु ध्वस्त भएको र विद्युतीय खम्बाहरु ढलेको तथा गाडीहरु ठोक्किएको देखिन्थ्यो। रेड क्रिसेन्टका स्वयंसेवकले स्वास्थ्यकर्मीहरु घाइतेको उपचारका लागि भग्मदुर प्रयासमा लागिरहेको जनाएको छ। चिकित्सकीय कर्मचारी पर्याप्त नभएको रेड क्रिसेन्टका मुक्लिसले टीभी वानमा बताएका छन्।

प्रकोप राहतमा सहायता पुर्याउन सैन्य अधिकृत र स्वयंसेवकलगायत १ हजारभन्दा बढी जवानलाई परिचालन गरिएको नुग्रोहोले जानकारी दिए। अमेरिकी भूगर्भ सर्वेक्षणले स्थानीय समय बिहान ५ बजे जमिनको १७ किलोमिटरमुनि गएको उक्त भूकम्प ६ दशमलव ४ म्याग्निच्युडको भएको जनाएको छ। सुनामीको चेतावनी भने जारी गरिएको छैन। पहिलो भूकम्पपछि कम्तीमा पाँचवटा पराकम्पन महसुस गरिएको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ।

उक्त क्षेत्रमा सन् २००४ मा आएको ९ दशमलव २ म्याग्निच्युडको भूकम्पपछिको प्रलयकारी सुनामीले पुरै इन्डोनेसिया र हिन्दमहासागर वरपरका राष्ट्रका सबै समुदायमा प्रलय मच्चाएको थियो। आहेसमा मात्रै १ लाख २० हजार नागरिकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्