हाम्रो देश प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि यसको प्रभावकारी उपयोग हुन सकेको छैन । यहाँको जंगल, जडीबुटी, पानी तथा भौगोलिक अवस्थाको उपयोग हुन सकेको छैन । प्रकृतिले सित्तैमा दिएको प्राकृतिक स्रोतको दिगो र व्यवस्थितरुपमा उपयोग गर्ने रणनीति तर्जुमा र कार्यान्वयन हुन सकेको छैन । प्राकृतिक स्रोतको उपयोग मात्र राम्रोसँग गर्न सके हाम्रो मुलुक समृद्ध हुने राजनीतिज्ञ तथा नीति निर्माताहरूलाई राम्रोसँग ज्ञान भए पनि उनीहरूले यसमा ध्यान दिएको पाइँदैन ।

भनिन्छ, हरियो वन नेपालको धन । वन संरक्षण भए पनि यसबाट प्रतिफल लिन सकिएको छैन । त्यस्तै जलस्रोतमा दोस्रो धनी मुलुकको रुपमा रहेको नेपालको कैयौं जमिन उत्पादनयोग्य भए पनि सिंचाइको अभावले बाँझो रहेको देखिन्छ । विद्युतीकरणको अथाह सम्भावना भएर पनि उल्टै आयात गरिरहनुपर्ने लाजमर्दो अवस्था छ । हजारौं जातका अमूल्य जडीबुटी नेपालमै पाइन्छ । यसको उपयोग हुन सकेको छैन । जडीबुटी निर्यात गरेर करोडौं रुपियाँ आर्जन गर्न सकिने सम्भावनालाई नजरअन्दाज गरिएको छ । प्राकृतिक स्रोतको उचित व्यवस्थापन भएमा आयातमुखी हाम्रो देश निर्यातमुखीमा बदलिनेछ, जसका कारण स्वदेशमै आर्थिक समृद्धि हासिल हुनेछ । स्वदेशमा रोजगारी उपलब्ध गराउन सकिनेछ ।

भौगोलिक अवस्था तथा वातावरणीय दृष्टिकोणले नेपाललाई स्वर्ग भन्दा पनि हुन्छ । यहाँको हिमाल, तराई, पहाडले संसारको सबै क्षेत्रमा पाइने वातावरण र प्राकृतिक स्रोतको सम्भावनालाई प्रतिनिधित्व गर्छ । पहिला जमिनमाथि भएको प्राकृतिक स्रोतको उचित व्यवस्थापन गरी मुलुक समृद्ध बनाउने दिशामा अघि बढ्न सके पछि उत्खनन गर्नुपर्ने प्राकृतिक स्रोतको उपयोग गरेर मुलुकलाई थप समृद्ध बनाउन सकिन्छ ।

जति पनि विकसित मुलुकलाई हेर्ने हो भने, उनीहरूले प्रकृतिले सित्तैमा दिएको उपहार जल, जमिन, जंगल, जडीबुटीलाई बढीभन्दा बढी उपयोगमा ल्याएकाले नै सफलता प्राप्त गरेका हुन् । नेपालले पनि आफ्नो मुलुकमा रहेको स्रोतलाई दिगो र व्यवस्थितरुपमा उपभोग गर्ने रणनीति तर्जुमा गर्नु आवश्यक छ । नेपालजस्तो डाँडाकाँडाले ढाकिएको मुलुकमा विद्युतीय ऊर्जाको माध्यमबाट यातायातको व्यवस्था मिलाउने र यहाँको अमूल्य जडीबुटी एवम् वन–स्रोतलाई सही तरिकाले व्यवस्थापन गरेर भौगोलिक अवस्थाअनुसार विकासको अवधारणा ल्याउनु अपरिहार्य छ । यही नै विकासको मूल आधार हुनसक्छ ।

LEAVE A REPLY