शौचालय छैन ? सुविधा “नो”



मोतीराम तिमल्सिना
काभ्रे

काभ्रेको कोशीदेखा गाविसमा शौचालय नबनाउने घरधुरीले सरकारी सेवा नपाउने भएका छन् । गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने अभियानको क्रममा असहयोग गरेर शौचालय निर्माण नगर्ने घरधुरीलाई गाविसले कुनै पनि सेवा सुविधा नदिने निर्णय गरेको हो ।

गाविसमा क्रियाशील राजनीतिक दल, संघ–संस्था, विद्यालयलगायतको समर्थनमा उक्त निर्णय गरिएको गाविस सचिव केशवप्रसाद दाहालले जानकारी दिए । सचिव दाहालका अनुसार यही डिसेम्बर महिनाभित्र अर्थात् पुस दोस्रो सातासम्म गाविसका सबै घरधुरीमा शौचालय निर्माण गरेर गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको छ । काभ्रेपलाञ्चोक जिल्लालाई सन् २०१७ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारीअनुसार कोशीदेखा गाविसलाई पनि डिसेम्बरभित्रै खुला दिसामुक्त गाविस बनाउने तयारी अघि बढेको हो ।

कोशीदेखा गाविसमा रहेका ४ सय ७७ घरधुरीमध्ये झन्डै २ सय ५० घरमा शौचालय नभएकोमा अहिले अधिकांश घरमा शौचालय निर्माणको काम भइरहेको छ । हालसम्म ५० देखि ७० घरमा मात्रै शौचालय निर्माणको काम शुरू हुन सकेको छैन । ‘गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि शौचालय नभएका घरपरिवारलाई गाविसबाट पाउने सेवा नदिने निर्णय गरिएको हो –सचिव दाहालले भने ।

सोहीअनुसार शौचालय निर्माणको काम सकिएका घरधुरीमा सरसफाइ कार्ड वितरण गर्ने कामसमेत अघि बढाइएको उनले जानकारी दिए । वाटर एडको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालमार्फत् गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने क्रममा शौचालय निर्माणको काम भइरहेको किर्डाक नेपालका जिल्ला संयोजक राजन भुर्तेलले जानकारी दिए । भुर्तेलका अनुसार गाविसमा प्रत्येक घरधुरीलाई शौचालय निर्माणका लागि ५ हजार बराबरको सामाग्री अनुदानस्वरूप प्रदान गरिएको छ । एकल महिला, विपन्नवर्गलगायतलाई भने शौचालय निर्माणका लागि सबै सहयोग गरिरहेको उनको भनाइ छ ।

शुरूका दिनमा गाविसमा शौचालय निर्माणका लागि सकारात्मक नदेखिएका सर्वसाधारणहरू अहिले आफ्नै स्वास्थ्यका लागि शौचालय निर्माण गर्नुपर्ने हो भन्ने कुरा बुझेसँगै शौचालय निर्माणमा अग्रसर भएका छन् । उक्त गाविसमा रहेका अधिकांश घरहरू गत वर्ष वैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्पका कारण ध्वस्त भएका थिए । अहिलेसम्म अस्थायी टहरामा बसिरहेका स्थानीयबासी अहिले पक्की शौचालय बनाउन अग्रसर भएका छन् । कसैले सहयोग नगरे पनि आफैंले शौचालय बनाउनुपर्नेमा सरकार र गैरसरकारी संस्थाले सहयोग गरेपछि खुसी लागेको स्थानीय सीता खकुरेलले बताइन् ।

भूकम्पपछि अस्थायी टहरामा बसिरहेकी उनले शौचालय भने पक्की बनाएकी छन् । घर विस्तारै बनाए पनि शौचालय प्रमुख आवश्यकता भएको उनको भनाइ छ । मानव जीवनमा स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो भन्ने बुझेसँगै घर निर्माणभन्दा पहिले शौचालय निर्माणका लागि स्थानीयबासी उत्साहसँगै क्रियाशील भएको स्थानीय स्वास्थ्य चौकीका प्रमुख पृथ्वी शाहीले बताए ।

कोशीदेखा गाविसलाई खुला दिसामुक्त गाविस बनाउन गाविसमा रहेका सबै पक्ष उत्तिकै क्रियाशील भएका छन् । गाविसमा रहेका २ वटा प्राथमिक विद्यालय र एउटा माध्यामिक विद्यालयका शिक्षक शिक्षिकाहरू पनि यो अभियानलाई सघाउन सक्रिय भएका छन् । गाविसको श्रीराम माविले त कुन विद्यार्थीको घरमा शौचालय निर्माण भएको छैन भनेर सूची नै बनाएर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक रजमान तामाङले प्रत्येक दिन शौचालय निर्माणको बारेमा विद्यार्थीमार्फत् अपडेट भइरहेको र अभियानमा सघाउन विद्यालय सक्रियतापूर्वक लागिरहेको जानकारी दिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा २६ वटा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । किर्डाक नेपालले खुला दिसामुक्त अभियानलाई सघाउन जिल्लाका खरेलथोक, ज्याम्दी र कोशीदेखामा परियोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्