कांग्रेसमा अझै खिचडी पाकेन



काठमाडौं, (नेस)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारीभन्दा पहिले विभाग गठन गर्ने तयारीमा लाग्नुभएको छ। कांग्रेसको विधानअनुसार सभापति देउवाले ४२ वटा केन्द्रीय विभाग गठन गर्न बाँकी छ। सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू आठ महिना बितिसक्दा पनि हुन सकेको छैन।

देउवाले आठ महिनाअघि पार्टीको १३औं महाधिवेशनमा सभापतिको दाबी गर्दै चुनावी प्रतिस्पर्धामा रहँदा विधानअनुसार समयमै विभागहरू गठन गर्ने र पार्टीका विभागहरूलाई तत्काल क्रियाशील गराई पार्टी निर्माणको अभिन्न अंगका रूपमा संस्थागत गरिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित विभागहरूलाई नीतिनिर्माण र संगठन विस्तारको पूर्ण जिम्मेवारी दिइने बताउनुभएको थियो।

आफू सभापति भएलगत्तै गतिशील विभागहरू गठन गर्ने प्रतिबद्धता सभापति देउवाले अझै पूरा गर्नुभएको छैन।

पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्य मनोनित नगरेर आलोचित बन्नुभएका सभापति देउवाले स्थानीय निकाय, संसदीय, कृषि तथा सहकारी, उद्योग व्यापार, भूपू सैनिक, गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग, प्रचार, प्राकृतिक स्रोत, मुस्लिम, महिला, अन्तर्राष्ट्रिय सम्बन्ध, स्वास्थ्य, तराई–मधेस, साहित्य, कला तथा संस्कृति, नेपाली जनसम्पर्क समिति समन्वय, अनुसन्धान तथा अभिलेख, आदिवासी तथा जनजातिलगायत विभाग गठन गर्नुपर्नेछ।

कांग्रेसका अन्य विभागहरूमा पेसागत तथा बौद्धिक संगठन, काठमाडौं सम्पर्क समन्वय समिति, निर्माण व्यवसायी समन्वय, विद्यार्थी, शिक्षा, प्रशासन, यातायात तथा व्यवसाय, अनुगमन तथा मूल्यांकन, खेलकुद, संवैधानिक तथा कानुन, तरुण, पर्यटन, संघीय मामिला, श्रमिक, दलित, द्वन्द व्यवस्थापन, विज्ञान तथा प्रविधि, वन तथा वातावरण, सिँचाइ एवं पूर्वाधार विकास, अपाङ्ग, शान्ति सुरक्षा र सेवा, वित्तीय संस्था समन्वय, वैदेशिक रोजगार क्षेत्र समन्वय र सांस्कृतिक विभाग छन्। विधानअनुसार केन्द्रीय सदस्यहरूको संयोजकत्वमा ती विभागहरू गठन हुन्छन्।

सभापति देउवाले आफू सभापति भए नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागलाई देशको बदलिँदो आवश्यकताअनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोको रूपमा विकसित गर्ने प्रतिबद्धतालाई पनि पूरा गर्नुभएको छैन। सभापति बन्नुपूर्व देउवाले पार्टी कार्यकर्तालाई दिइने प्रशिक्षण नेताहरूको भाषण गर्ने थलो र औपचारिकतामा सीमित राखिनेछैन भन्दै व्यावसायिकता र समय सान्दर्भिक विषयवस्तु केन्द्रित प्रशिक्षण सामग्रीमा आधारित प्रशिक्षणलाई केन्द्रदेखि गाउँतहसम्म नियमित बनाइने बताउनुभएको थियो।

देउवा निकट स्रोतका अनुसार केन्द्रीय विभागहरू गठन र जिम्मेवारी बाँडफाँडपछि मात्र पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन्। पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। साथै सभापति देउवाले ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्