तुरानको ह्याट्रिकमा बार्सिलोनाको जित



लन्डन, (एजेन्सी)

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो । समूह सी अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेसीले एक गोल गरे । खेलको १६औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा बार्सिलोनाले थप तीन गोल गर्यो । खेलको ५०, ५३ र ६७ औं मिनेटमा गोल गर्दै तुरानले आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।
जितपछि बार्सिलोना समूह सी को विजेता बनेको छ । बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बन्यो । यसै समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले सेल्टिकसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

आर्सेनलसमूह विजेता
लुकास पेरेजको ह्याट्रिकको मद्दतमा आर्सेनलले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित हात पार्दै समूह ए को शीर्ष टोली बन्यो । मंगलबार राति भएको खेलमा आर्सेनलले एफसी बासेललाई ४–१ ले हराएको थियो । इंग्लिस टोलीको जितमा लुकास पेरेजले ह्याट्रिक गरे भने एलेक्स इओबीले एक गोलको योगदान दिए ।

बासेलका लागि सेडु डुम्बियाले एक गोल फर्काए । पेरेजले ८ र १६ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा आर्सेनललाई २–० को अग्रता दिलाए । ४७ औं मिनेटमा पेरेजले ह्याट्रिक पूरा गरेका थिए ।

नेपोली अन्तिम १६ मा
इटालियन क्लब नेपोली पोर्चुगलको बेन्फिका च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेका छन् । नापोली समूह ‘बी’ को विजेता तथा बेन्फिका उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका हुन् । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा नापोलीले बेन्फिकालाई २–१ ले हराउंडै समूह विजेता बनेको हो। नेपोलीसँग हारे पनि समूह उपविजेताको हैसियतले बेन्फिका नकआउट चरणमा छनौट हुन सफल भयो ।

यसै समूहको अर्को खेलमा ९ खेलाडीमा सीमित बेसिक्टासले डाइनामो किएभसँग पराजित भएकाले बेन्फिका छनौट भएको हो। किएभले बेसिक्टासलाई ६–० ले हराएको थियो । समूह विजेता बनेको नेपोलीको ११ तथा बेन्फिकाको ८ अंक छ । तेस्रो स्थानमा रहन बाध्य बेसिक्टासले सात अंक जोडेको छ ।

मंगलबार राति नै समुह ‘डी’ को खेलमा भने जर्मनी क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मेड्रिडलाई आफ्नो घरेलु मैदानमा १–० ले पराजित गर्यो । म्युनिख रंगशालामा एट्लेटिकोलाई स्तब्ध पार्ने क्रममा लेवान्डोस्कीले निर्णायक गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्