बल्ल बन्दै बाहिरी चक्रपथ



सुरेश तामाङ, काठमाडौं
बाहिरी चक्रपथ आयोजनाले यही वर्षदेखि काम थाल्ने गरी तयारी तीव्र बनाएको छ। आयोजनाले बा≈य चक्रपथको उत्तरी खण्डबाहेकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) यो हप्ताभित्रै शहरी विकास मन्त्रालयमार्फत पास गराएर काम थाल्ने बताइएको छ।

‘हामीले २⁄३ दिनमै प्रतिवेदन मन्त्रालयमा बुझाउँछौं’, आयोजना प्रमुख दीपक श्रेष्ठले भन्नुभयो– ‘हामीले प्रतिवेदन पास गराएर एक सातापछि नै फिल्डमा खट्ने योजना बनाएका छौं। त्यहीअनुसार काम रफ्तारमा चल्दै छ।’ उपत्यकाका तीनवटै जिल्लालाई छोएर बन्न लागेको ७२ किमी लामो बाहिरी चक्रपथ शुरुआतमा चोभारदेखि सतुंगलसम्म ६ दशमलव ६ किमीमा काम थाल्न लागिएको हो। चार वर्षअघि यसै खण्डबाट काम थाल्न खोज्दा स्थानीयवासीले व्यापक विरोध गरेका थिए।

यसबारे आयोजना प्रमुख श्रेष्ठले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘उहिलेका कुरा खुइलेर गए। त्यो कुरा नकोट्याऊँ। म सबैलाई सम्झाएर काम गर्छु भनेर यहाँ आएको छु। आशा छ कि अब काम कुनै पनि हालतमा रोकिन्न।’
त्यस्तै गएको साउन १९ गते सरकारले गरेको निर्णयअनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणका क्रममा जग्गा परे स्थानीयबासीले दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेकामा धेरै दाबी विरोध नभएपछि यसको अवरोध खुलेको हो।

३५ दिनको अवधिमा ५० जनाले मात्र बाहिरी चक्रपथ निर्माण गर्न नहुने भन्दै प्राधिकरणमा उजुरी दर्ता गरेका छन्। कम उजुरीका आधारमा पनि आयोजना प्रमुख श्रेष्ठलगायत स्थानीयमाझ चक्रपथ बन्ने आशा पलाएको छ। त्यस्तै, शहरी विकास मन्त्रालयले पहिलो चरणको काम अघि बढाउन निर्देशनसमेत दिइसकेको आयोजनाको जिकिर छ।

यसपटक भने कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ। यसबीचमा गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयबासीमा जनचेतना जगाएकाले स्थानीयबासी सकारात्मक बनेको आयोजनाले जनायो।

योजनाअनुसार एक हप्ताभित्रै मन्त्रालयमार्फत प्रतिवेदन पास भएमा आयोजनाले त्यसलगत्तै तुंगलदेखि गम्चा हुँदै चोभारसम्म सीमांकन गर्ने, जग्गा रोक्का गर्ने, नयाँ ट्रइक खोल्ने र ग्रावेल गर्ने योजना बनाएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो।

आयोजना निर्माणका क्रममा ७० हजार रोपनी जग्गालाई जग्गा विकास योजनाअन्तर्गत प्रयोग गरी चक्रपथको निर्माण हुने आयोजनाले जनायो। यसको लागत ६ अर्ब ३६ करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। चक्रपथको सम्पूर्ण काम शुरू भएको ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य आयोजनाले लिएको छ।
जनसंख्याको तीव्र वृद्धि, अव्यवस्थित शहरीकरण र साँघुरो बस्तीका कारण भित्री चक्रपथको क्षेत्रमा भौतिक सुधार कठिन र खर्चिलो भएका कारण आर्थिक वर्ष ०५६⁄५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको हो। उपत्यकाको दक्षिण र पूर्वी भूभागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले आयोजना ल्याइएको जनाइएको छ।

बाहिरी चक्रपथ चोभार, सतुंगल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर, थली, डाँछी, दुवाकोट, दधिकोट हुँदै लुभु, हरिसिद्धि, धापाखेल बुङ्मतीहुँदै चोभार पुग्नेछ। जहाँ ३४ पक्की पुल र भित्री चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ ओटा सडक हुनेछन्।

सडकखण्डमा पर्ने स्थानीय बासिन्दालाई जग्गाको मुआब्जा नदिई उनीहरूको सट्टा भर्ना प्रक्रियाबाट पुनःस्थापना गरिने बताइएको छ। यसका लागि सडकको दायाँबायाँ दुवैतिर २ सय ५० मिटरका दरले जग्गा विकास योजनाअनुसार अधिग्रहण गरिनेछ। बाहिरी चक्रपथवरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने लक्ष्यसहित आयोजनाले काम थालेको छ।
आयोजनाले हालसम्म विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), परामर्श तथा कर्मचारी तलबका लागि मात्रै ९ करोड ८८ लाख ४५ हजार ५ सय ४६ रुपियाँ खर्च गरिसकेको छ। यो विवरण आर्थिक वर्ष २०६१⁄६२ देखि २०७१⁄७२ सम्मको हो। आयोजनासँग १० वर्षको अवधिमा १७ करोड १६ लाख ९४ हजार ३ सय ४ रुपियाँ वार्षिक बजेट थियो।

काठमाडौं, ललितपुर र भक्तपुरका कृषियोग्य जमिन तथा पानीका स्रोत भएका क्षेत्र संरक्षण गर्ने गरी आयोजना अगाडि बढाउने तयारी सरकारले गरेको छ। यो आयोजना १२ वर्षसम्म पनि कागजमा नै सीमित रहँदै आएको थियो। बाहिरी चक्रपथ बनाउने भनिएका जग्गामा ठूला घरहरू धमाधम निर्माण भइरहेकाले यसको कार्यान्वयनमा सरकारलाई हम्मेहम्मे पर्ने सम्भावना पनि उत्तिकै छ।
चक्रपथ बाहिरको खुला तथा कृषियोग्य भूमिसमेत क्रमिक रूपमा अव्यवस्थित शहरीकरणले बिगार्न थालिसकेको छ भने खुला स्थलको अभाव र अवरुद्ध आवागमनले गर्दा वातावरणमा प्रभाव पर्न थालिसकेको सम्बद्ध विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्