प्रहरीलाई कारबाहीको आदेश



नेपाल समाचारपत्र
बाँके

उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासले झुपबहादुर विष्टको यातना क्षतिपूर्तिसम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतकै फैसला सदर गरेको छ। उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीशद्वय डा. कुलरत्न भुर्तेल र वीरबहादुर डाँगीको संयुक्त इजलासले प्रहरीद्वारा चरम यातना पाएका बाँके कचनापुरका विष्टलाई १ लाख रुपियाँ क्षतिपूर्ति र यातना दिने कार्यमा संलग्न प्रहरीलाई विभागीय कारबाहीका लागि लेखी पठाउने फैसला गरेको हो। प्रहरी चौकी गाभरपुर अगैया बाँकेका तत्कालीन प्रमुख, प्रसनि बुद्धिप्रसाद शर्मा, प्रहरी हवल्दार धनबहादुर चन्द र प्रहरी जवान मानबहादुर थापालाई २०७१ माघ २० गते बाँके जिल्ला अदालतले दोषी ठहर्याएको थियो।

अधिकतम १ लाख क्षतिपूर्ति भराउने र यातना दिने कार्यमा संलग्नलाई कारबाहीको सिफारिस गर्ने फैसला बिरलै हुने गरेको अधिवक्ता वसन्त गौतमले बताउनुभयो। बाँकेमै यसअघि यातनाका दुई घटनाका पीडितलाई ९५ हजार र ५१ हजार क्षतिपूर्तिको आदेश भए पनि प्रहरीलाई विभागीय कारबाहीको आदेश भएको थिएन।

बाँके कचनापुर गाविस वडा नं ७ टिकुलीपुर बस्ने ३७ वर्षीय विष्टले प्रहरीविरुद्ध २०७० साउन ९ गते बाँके जिल्ला अदालतमा यातना क्षतिपूर्ति सम्बन्धी मुद्दा दायर गरेका थिए। मुद्दामा यातना सम्बन्धी क्षतिपूर्ति ऐन २०५३ को दफा ६ (१) बमोजिम एकलाख रुपियाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति भराई ऐनको दफा ७ बमोजिम कुटपिट तथा यातना दिने कार्यमा संलग्न सबै प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गर्न भनी सम्बन्धित निकायलाई आदेशसमेत जारी गरी पाऊँ भनी बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

२०७० साल साउन १ गते अगैयास्थित एक होटलमा साँझ नाचगान भइरहेको स्थानबाट प्रहरी चौकी गाभरपुर अगैया बाँकेबाट आएका प्रहरीहरूले पक्राउ गरी रातभरि हत्कडी लगाई गैरकानुनी थुनामा राखेर चरम यातना दिएको पीडितले मुद्दामा उल्लेख गरेका छन्। प्रहरीद्वारा दिएको यातनाका कारण आँखा, ओठ, पिठ्युँ, दुवै खुट्टालगायतका स्थानमा गम्भीर चोट लागेको थियो।

प्रहरी हिरासतमा राख्दा प्रहरीले मुक्काले हान्दा बायाँ आँखामा रगत जमेर तिलगंगा आँखा अस्पतालमा आँखाको अप्रेसन गर्नुपरेको थियो भने छातीमा बुटले हान्दा छातीभित्र रगत जम्मा भई लामो समयसम्म औषधि खानुपरेको पीडित विष्टले बताउनुभयो। प्रहरीको कुटाइबाट दुईवटा दाँत हल्लिएर उपचार गराउनुपरेको थियो। यातनाको असर अहिले पनि रहेको र यातनाका कारण आँखाको हेर्ने शक्ति कमजोर भएकाले काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचार गराइरहेको यातनापीडित विष्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्