विवाहमा ढाकाटोपी लगाउन नपाइने



उत्तम नेपाल, शान्तिपुर, आसाम

सामान्यतया कुनै पनि मानिसको विवाह गर्नका लागि मिति तय गरिन्छ। आफ्नो विवाहको क्रममा बेहुलाले आफूलाई मन परेको पोशाकमा सजिएर बेहुली लिन जाने चाहना प्रायः सबै बेहुलाको हुने गरेको छ। तर, नेपालबाहिर यस्तो एउटा ठाउँ छ, जहाँ बेहुलाले मन पराएको पोशाक लगााउन बन्देज गरी बेहुली पक्षले भनेबमोजिमको पोशाक लगाउन बाध्य पारिन्छ। यदि बेहुली पक्षको भनाइलाई अटेर गरी विवाह मण्डप गएमा प्रवेशमा रोक लगाई जरिवाना स्वरूप नगद तिराउने चलन रहेको छ।

नेपालबाहिर रहेको भुटानको सीमाना रहेको बाक्सा जिल्ला आसाम, शान्तिपुर, भुटानखुटी भन्ने ठाउँमा यो चलन पाइने गरेको छ। बेहुलाले ढाकाका दौरा सरुवाल, पगरी (फेटा) पछ्यौरा, पगरीमा माहुर झुन्ड्याउनुपर्ने तर नेपाली टोपी लगाउन नपाइने नियम रहेको भुटानखुटीका ५५ वर्षीय मोतीलाल बरालले बताए। कुरो छिनेपछि हामीले बेहुला पक्षलाई पोशाकका बारेमा जानकारी गराएका हुन्छौं, हाम्रो कुरालाई बेवास्ता गरेमा जरिवाना स्वरूप ५ हजार ५ सय ५१ रुपियाँ गठन भएको समितिमा जम्मा गर्न लगाएर समितिले बिहे अवधिभर पोशाक उपलब्ध गराउने गरेको बरालको भनाइ छ। केटी पक्षलाई पनि चौबन्दी चोली र छिटको साडी बेहुला पक्षले नै लिएर आउनुपर्ने चलन रहेको उनको भनाइ छ। तर, बेहुलीलाई हामीले तोकेको पोशाक नभए पनि बेहुलालाई अनिवार्य गरिएको उनले बताए।

नेपालको विभिन्न स्थानबाट आएर बसोबास गरे पनि पहिल्यैदेखि चलेको चलनलाई मेटाउन नसकिएको यज्ञ गुरागाईं बताउँछन्। बेहुलाबाट असुल गरेको रकम गोर्खा संस्कृति युवक संघमा जम्मा गरी धार्मीक संघ–संस्थामा खर्च गरिँदै आएको समितिलाई उद्धिृत गर्दै गुरागाईंले बताए। आसामी पोशाक कमिज सरुवाल भए पनि बेहुलाले ढाका टोपी लगाउन नपाइने उनको भनाइ छ। आफ्ना पुर्खाले जंगल फाँडेर बसोबास गर्दै आइरहेको सम्झना गराउँदै यस ठाउँमा बसोबास गरेकाहरुको आदेशमा हिँड्न बाध्य पारेको उनले बताए। आसाममा सबै कुरा ठीक भए पनि नेपाली ढाकाटोपी लगाउन नपाउँदा दुःख लागेको शान्तिपुरको विवाहस्थलमा भेटिएका उमेश चापागाईंले बताए। ढाकाको दौरा सरुवाल लगाउन चाहिँ हुने तर टोपीको सट्टामा पगरी लगाउँदा नेपालीको सान नभएको उनको भनाइ छ। बेहुलाले भनेको नमान्दा जरिवाना तिर्नुपर्ने हो भने बेहुलीले पनि विवाह मण्डपमा निस्कँदा तोकिएको पोशाक नलगाएको पाइएपछि नियम दुवैतर्फ लाग्नुपर्ने जन्ती गएका दुर्गा चापागाईंले बताए। विवाह घरमा भेटिएकी ७७ वर्षीया थलमाया मिश्रले बेहुलाले नै चौबन्दी चोलो र साडी ल्याउनुपर्ने नियम रहेको बताइन्। प्रायः यहाँ आउने बेहुलाले नियम पालना गरेको भए पनि केही छिटफुट घट्ना भएको आफूले देखेको उनको भनाइ छ।

अर्कोतर्फ मुख्य चाड दशैंतिहार भए पनि माघ बिहु, वैयाक बिहु मनाउनै पर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। ती स्थानहरूमा गरिबका लागि इन्दिरा आवास आयोजना बीपीएलले सरकारी घर बनाइदिने गरेको पाइएको छ। वार्षिक आम्दानीको आधारमा यहाँका अधिकांश घर सरकारले बनाइदिएको मिश्रले बताइन्। करिब २ सय ७० घर सरकारले बनाइदिएको उनको भनाइ छ । जंगल भएको ठाउँमा २०२२ सालमा फाँडेर बसोबास गर्दै आएको उनी बताउँछिन्।

यहाँको मुख्य पेसा सुपारी (ताम्बुल) खेती रहेको पाइएको छ। सिँचाइ सुविधा नभएका कारण पानीबाट हुने खेती कम उत्पादन हुने गरेको उनीहरूको भनाइ छ। भुटानको सीमानासँगै पहाडको फेदमा रहेका बासिन्दाहरूको मुख्य बजार ५ किलोमिटरमा पर्ने बाक्सा जिल्लाको निकासी बजार रहेको छ। सडक, बत्ती, पिउने पानीको अभावलगायत टाढाको शिक्षाले समस्या बढाएकाले आफूहरूले सरकार समक्ष गुनासो गरेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्