लामाले ल्याए सांगीतिक तहल्का



गायक एम लामा दर्शक⁄स्रोतामाझ तहल्का नामक गीति अडियो एल्बम लिएर आएका छन्। आफ्नो एक दशक लामो सांगीतिक यात्राको फल भन्दै गायक लामाले राजधानीमा आयोजित एक कार्यक्रमबीच आफ्नो एल्बम तहल्का सार्वजनिक गरेका हुन्।

‘म्युजिकसम्बन्धी विभिन्न कक्षा लिई पूर्णरूपमा आफूलाई पोख्त बनाएर यो क्षेत्रमा होमिएको छु –कार्यक्रममा उनले भने। उनको सार्वजनिक एल्बममा तहल्का, खै कस्ले, म खेलिरहेछु, कतै प्यास, तिम्रो नजरको र बिहानीको बोलका आधा दर्जन गीत संगृहित छन्। ती गीतमा सुरेश अधिकारी, शंकर थापा, हरि लम्साल र शिखर सन्तोषको संगीत रहेको छ भने गीत रचना शीतल कादम्बिनी र रावतको रहेको छ।

युथ क्रिएसनले बजारमा ल्याएको एल्बममा रहेका तहल्का र खै कस्तो बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। तहल्काको म्युजिक भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन्। जसमा पुष्प खड्का र शिल्पा पोखरेलले अनस्क्रिन रोमान्स गरेका छन् भने खै कस्लेलाई आशिष लामाले निर्देशन गरेका छन्। यसको म्युजिक भिडियोमा कृष्ण थापा र क्रिस्टिना थापाले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्