सातौं दिन पनि जनप्रदर्शन जारी



सीताराम चौधरी, चन्द्रौटा, (कपिलवस्तु)

प्रदेश विभाजनको विरोधमा आन्दोलनमा उत्रिएका कपिलवस्तुका राजनीतिक दलले सातौं दिनसम्म पनि विरोध प्रदर्शन जारी राखेका छन्। सरकारले प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गरेको विरोधमा एमालेसहितका विभिन्न राजनीतिक दल आन्दोनमा उत्रिएका हुन्।

बन्द समर्थकले राजमार्गका विभिन्न स्थानमा बन्दसहितका चरणबद्ध आन्दोलन गर्दै आएका छन्। प्रदेश विभाजनको विरोधमा एमाले, नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नागरिक समाज, बुद्धिजीवी, युवा, विद्यार्थी, विभिन्न संघसंस्थालगायत स्थानीय बासिन्दा सडकमा उत्रिएका छन्। कपिलवस्तुको पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा ठप्प छ। राजमार्गमा सार्वजनिक यातायातका साधन चलेका छैनन्।

बन्दका कारण मंगलबार पनि कपिलवस्तुमा बिहानैदेखि यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प रहे। लगातारको बन्दले मानिसको दैनिकीमा समेत प्रभाव परेको छ। मंसिर २० गतेदेखि तयारी गरिएको चन्द्रौटा स्रोतकेन्द्रअन्तर्गतको अर्धवार्षिक परीक्षा अवरुद्ध बनेको छ। शिक्षण संस्थासमेत बन्द हुँदा स्कुले बालबालिकाहरू ठूलो मारमा परेका छन्।

पूर्वपश्चिम राजमार्गको चन्द्रौटा, खरेन्द्रपुर, चौवन्नपुर, इमिलिया, बुड्ढी, गोरुसिंगे, बनगाई, ओदारीलगायतका ठाउँमा बन्द समर्थकले सडकमा उत्रेर ५ नम्बर प्रदेश फुटाउन नपाउने भन्दै सडक अवरुद्ध पारेका छन्।

चन्द्रौटा चोकमा एमाले, जनमोर्चालगायतले सडक जाम गरेका छन् भने खरेन्द्रपुरमा राप्रपाका युवा नेता अजय थापाको नेतृत्वमा सयौं युवा कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको संशोधन विधेयक प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बन्दकर्ताका चन्द्रौटा संयोजक एवं एमाले जिल्ला सदस्य लंकबहादुर हमालले जानकारी दिनुभयो।

आन्दोलनलाई समर्थन जनाउँदै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदईको नेतृत्वमा राष्ट्रिय जनमोर्चाका कार्यकर्तासमेत चन्द्रौटा चोकमा दिनभर प्रदर्शनमा उत्रिएका छन्। जिल्लामा बन्द हडतालका कार्यक्रम शान्तिपूर्ण रहेको संघर्ष समिति संयोजक एवं एमाले जिल्ला अध्यक्ष झविलाल पोखरेलले दाबी गर्नुभयो। बन्दका क्रममा अति आवश्यक सवारी साधन एम्बुलेन्स, दूधका गाडी, प्रेस, विदेशी कूटनीतिक नियोगका सवारी साधनलाई कुनै रोकतोक नगरिएको पोखरेलले बताउनुभएको छ।

यता कपिलवस्तु प्रशासनले शान्ति सुरक्षामा खासै असर नपर्ने बताउँदै सोमबार बिहान ७ बजेदेखि कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रमा अनिश्चितकालसम्म सभा, सम्मेलन, जुलुसलगायत गर्न नपाउने गरी जारी गरेको निषेधाज्ञा मंगलबार बिहान १० बजेबाट हटाएको निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्