सातौं दिन पनि आन्दोलन जारी जनजीवन कष्टकर बन्दै



यमलाल भुसाल, बुटवल

गत ७ दिनदेखि रुपन्देही जिल्लामा जारी आन्दोलन र प्रदर्शन मंगलबार पनि जारी छ। बन्द जारी रहँदा जनजीवन कष्टकर बन्दै गएको छ। सातौं दिन पनि बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी गरेका छन्। संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोध गर्दै बिहान राजमार्ग चौराहाबाट सुरू भएको जुलुस मिलनचोक, बसपार्क, हस्पिटललाई हुँदै पुष्पलाल पार्कपछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

त्यसै गरी जिल्लाको भलवाडी, मणिग्राम, शंकनगर, योगिकुटी, शीतलनगर खैरेनीलगायतका चोकमा पनि बिहानैदेखि आन्दोलन कारी जम्मा भएर प्रदर्शन गरिरहेका छन्। मंगलबार मणिग्राममा विशाल जनप्रदर्शन गरिएको छ।

सरकारी कार्यालयहरूमा मंगलबार पनि कामकाज ठप्प छ। शैक्षिक संस्था, विद्यालयहरू पूरै बन्द हुँदा विद्यार्थीको पढाईनै अन्यौलग्रस्त बनेको छ। संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिँदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ।

संविधान संशोधनको प्रस्ताव आफूहरू स्वीकार्य भएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आइतबार विज्ञप्ति जारी गरेपछि आन्दोलनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टीलगायतका नेता कार्यकताहरू सहभागी छन्।

अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा रुपन्देहीमा क्रियाशील व्यावसायिक संघ–संस्थाद्वारा बुटवलमा बृहत् प्रदर्शन गरेको थियो। जिल्लाका मुख्य बजार, कलकारखाना बन्द छन् भने जिल्लाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन पनि चलेका छैनन्। गाडी नचलेपछि कुलपूजाका लागि स्वदेश तथा विदेशबाट घर फर्किनेहरू मर्कामा परेका छन्। आन्दोलनलाई व्यवस्थित बनाउन स्वयंसेवक दलसमेत गठन गरिएको छ। आन्दोलन अवधिभर कुनै पनि राजनीतिक दलको झन्डा प्रयोग नगर्ने र राष्ट्रिय झन्डा मात्र प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ।

जिल्लाका राजनीतिक दल, एवं भ्रातृ संघ–संगठन, गैरसरकारी संघ–संस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ। संविधानप्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावनाविपरीत गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको बताइएको छ।

जिल्लामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसी मुकुन्द मरासिनीले आन्दोलन शान्तिपूर्ण रहेको जानकारी दिनुभयो। आन्दोलनलाई ध्यान दिँदै सुरक्षा व्यवस्था भने कडा पारिएको उहाँले बताउनुभयो।

आन्दोलन शान्तिपूर्ण बनाउन र स्वरूप परिवर्तन गर्न माग
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनैतिक दलहरू, नागरिक समाज, पेसाकर्मी, उद्योगी व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी र प्रहरी प्रशासनका अधिकारीहरूसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।

समाजले पाँच नम्बर प्रदेशको बुटवल केन्द्रित आन्दोलनमा विभाजित भएका दलहरूलाई एउटै मञ्चमा राखेर आन्दोलनको समीक्षा गर्नुका साथै आन्दोलनमा हिंसा र अराजकतालाई प्रवेश नदिन आग्रह गरेको छ। विरोध प्रदर्शनका क्रममा संयमित र मर्यादित हुनसमेत आग्रह गर्दै जनताले प्रत्यक्ष दुःख भोगेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि कार्यक्रमका सहभागीहरूले सुझाव दिएका थिए।

आन्दोलनमा सहभागी दलका प्रतिनिधिहरूले ५ नम्बर प्रदेशका पहाडी जिल्लासँग तराईका जिल्लाहरूको गहिरो सम्बन्ध भएकाले यो प्रदेश टुक्राउन नहुने वक्ताहरूले बताएका छन्। समाजले बुटवलमा आयोजना गरेको शान्ति र मानव अधिकार, हाम्रो सरोकार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले कार्यक्रममा बोल्दैे आन्दोलनको स्वरूप परिवर्तन गरी विरोध जनाउन आग्रह गरेका हुन्। यो आन्दोलन कुनै पनि पार्टीको नभएर आमनागरिकको भएकाले दैनिक जनजीवनलाई सहज बनाउँदै आन्दोलनलाई शान्तिपूर्ण बनाउनुपर्नेमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले आग्रह गरेको छ।

सरकारले संविधान संसोधन विधयक मंसिर १४ गते मंगलबार राति दर्ता गराएलगत्तै सीमांकन हेरफेर सम्बन्धमा विधयकलाई लिएर ५ नम्बर प्रदेश टुक्राउन नहुने मागसहित गरिएको आन्दालनमा लगातार ७ दिनको बन्दले गर्दा यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको, बालबालिकाहरूलाई आफ्नो पढ्न पाउने अधिकारबाट वञ्चित भएको र स्वास्थ्य क्षेत्र पनि ठप्प हँुदा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेकाले यस्ता अत्यावश्यक सेवाहरू सुचारु गर्नका लागि सबै राजनैतिक दल एकजुट भएर आन्दोलनको स्वरूप फेर्न आग्रह गरेका छन्।

कार्यक्रममा मानव अधिकार तथा शन्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल, नेकाप एमाले जिल्ला कमिटी रुपन्देहिका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेपाली कांग्रेस रुपन्देहिका सचिव रामकृष्ण खाँड, नेकपा माअ‍ेवादी केन्द्रका कृष्ण पोखरेल, नेकपा माओवादी (विप्लव) समूहका जिल्ला इन्चार्ज शरद वली, नयाँ शक्तिका निर्दाेष अली, राष्ट्रिय जनमोर्चाका दीपक पौडेल, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारी, इप्रका बुटवलका डीएसपी मुकुन्द मरासिनी, औद्योगिक सुरक्षा बल बुटवलका डीएसपी प्रकाश थापा, पश्चिम नेपाल व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेल, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्धिनारायण सहानी, अधिकारकर्मी माया गौतम, रीमा बीसीलगायतले आफ्नो भनाइ राखेका थिए।

प्रतिक्रिया दिनुहोस्