एमाले झन् उग्र



पुष्कर बुढाथोकी, भक्तपुर
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी र थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकका बारेमा जानकारी दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारले संविधानको मर्म विपरीत संसद्मा ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा शुरू भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय भएको बताउनुभयो। उहाँले अब आन्दोलन प्रदेशमा मात्र सीमित नरहने बताउनुभयो। तराई मधेसमा पनि पार्टीले अलग्गै अभियान चलाउने र मधेसी जनताविरुद्ध भइरहेको षड्यन्त्रको भण्डाफोर गर्ने निर्णय भएको उपाध्यक्ष गौतमले बताउनुभयो।

दिउँसो २ देखि ४ बजेसम्म चलेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सातवटै प्रदेशमा थप प्रभावकारी र देशव्यापी बनाउने निर्णय गरेको बताउनुभयो।

‘आन्दोलनका क्रममा हुने आमसभा र विशाल जनप्रदर्शनको मिति भने केही दिनभित्रै तय हुन्छ –उहाँले भन्नुभयो। संसद्मा पेस भएको उक्त विधयेकविरुद्ध संसद्मा भएको दल र थप पार्टी एवं सांसदलाई समेत एकताबद्ध बनाएर जारी आन्दोलनलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

बैठकले पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति सरकारकै उच्च तहबाट आएकाले बैठकले निन्दा गरेको जानकारी दिनुभयो। संसद्मा प्रमुख विपक्षी एमालेले ५ नम्बर प्रदेशमा चलिरहेको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र सदनमा जारी संघर्षलाई अझै कडा बनाउने भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

राजनीतिक दललाई राजनीतिक कार्यक्रम निर्वाध ढंगले सम्पन्न गर्ने, राजनीतिक कार्यक्रम गर्न पाउने सुनिश्चितता गर्न सबैसँग अपिल बैठकले गरेको उहाँले जानकारी गराउनुभयो। विभिन्न जिल्लामा भएको आन्दोलन बिथोल्न गरेको कुप्रचार र ज्यादतीको भण्डाफोर गर्ने निर्णय बैठकले गरेको छ। उहाँले विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा तोडफोड गर्ने र एमालेको कार्यक्रममा अवरोध गर्ने खालका गतिविधिको बैठकले निन्दा एवं भत्र्सना गरेको जानकारी दिनुभयो। संविधान संशोधन विधेयक राष्ट्रघाती एवं बाह्य शक्तिको इसारामा आएको भन्दै त्यसलाई असफल बनाउन संसद्को संघर्षलाई अझ कडा बनाउने निर्णय गरेको प्रवक्ता भट्टराईले बताउनुभयो।

राजनीतिक कार्यक्रममा मजबुत सुरक्षाको प्रबन्ध गर्न र राजनीतिक गतिविधिमाथि रोकतोक गर्ने कार्यको नियन्त्रण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। संसद्मा पेश भएको विधेयकका विषयमा भारतले गरेको टिप्पणी, भारतले दिएको चासो, अभिव्यक्ति र गतिविधि कूटनीतिक मर्यादा विपरीत भएको र चिन्ता गर्ने विषय बनेको बैठकले ठहर गरेको जानकारी दिदैं उहाँले त्यसो नगर्न एमालले सचेत गराएको बताउनुभयो।

बैठकमा अध्यक्ष ओलीले एमालेविरुद्ध आन्तरिक र बाह्य शक्तिहरूको मोर्चाबन्दी भइरहेको भन्दै राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन पार्टी एक ढिक्का रहनुपर्ने बैठकमा बताएको स्रोतको भनाइ छ।
बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुषाल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङलगायतका स्थायी समितिका अधिकांश सदस्यहरूको सहभागिता रहेको थियो। तर बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालको भने सहभागीता रहेको थिएन। एमालेले संविधान संशोधन विधेयक दर्ता भएदेखि नै संसद्मा अवरोध गरिरहेको छ भने बुटवललगायतका पहाडी जिल्लामा आन्दोलन गरिरहेको छ।
भारतको …
१७ सयले …
फेरिँदै नेपाली …

प्रतिक्रिया दिनुहोस्