गच्छदारको कार्यक्रममा हतियार लुट्ने प्रयास



मोतीराम तिमल्सिना, काभ्रे
मधेशी जनअधिकार फोरम नेपालको सांस्कृतिक तथा पार्टी प्रवेश कार्यक्रम युवाहरूले विथोल्न खोजेपछि भएको झडपका क्रममा प्रहरीको हतियार लुट्ने प्रयास गर्दा प्रहरीले हवाइ फायर गरेको छ।

पार्टीका केन्द्रीय सदस्य एवं स्थानीय गणेश लामाको गाउँ शिखर आम्बोटे गाविसमा आयोजना गरिएको कार्यक्रम युवाहरूले विथोल्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। खहरेपाँगु प्रहरी चौकी नजिकै आयोजना गरिएको कार्यक्रममा पार्टीका अध्यक्ष विजयकुमार गच्छादार प्रमुख अतिथि थिए। युवाहरूको तामझाम र लावा लस्करका साथ विजय गच्छादारलाई गणेश लामाले शिखर आम्बोटे पुर्याएका थिए। कार्यक्रम भइरहेको समयमा केही युवाहरूले विथोल्न खोजेपछि गणेश लामाकै समूहका युवाहरूले पक्राउ गरी प्रहरीलाई बुझाए। प्रहरीले नियन्त्रणमा लिएका दुई युवाहरूलाई स्थानीयले छुटाउन खोजेपछि शुरू भएको झडप हवाइ फायरसम्म पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डीएसपी नवीनराज राईले जानकारी दिएका छन्।

घटना विवरणअनुसार फोरम नेपालको कार्यक्रम शुरू नहुँदै स्थानीय युवाहरूले फोरम नेपालका नवप्रवेशी युवाहरूलाई आक्रमण गरेका थिए। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा स्थानीयहरूले चौकी घेराउ गरेपछि शुरू भएको विवाद उग्र हुँदै गयो। गणेश लामाका कार्यकर्ताहरूले युवाहरूलाई कानुनअनुसार कारवाही गर्न नियन्त्रणमा लिइरहनुपर्ने बताउँदै नाराबाजी गरिरहे भने स्थानीयहरूले पक्राउ गरेका युवाहरूलाई छाड्न माग गरिरहे। प्रहरी हवल्दारलाई स्थानीयहरूले कुटपिट गर्दै हतियार खोस्न खोजेपछि हवाइ फायर गरिएको डीएसपी नवीनराज राईले जानकारी दिनुभयो। त्रिपालमा बसेका प्रहरीहरूले स्थानीयहरूलाई नियन्त्रणमा लिन सकेनन्। जिल्ला प्रहरी कार्यालयबाट साँझ मात्रै प्रहरी निरीक्षक विदुर थापाको नेतृत्वको थप फौज परिचालन गरिएको छ।

उता कार्यक्रम शुरू नहुँदै भिडन्त भएपछि हतारहतार गच्छादार कार्यक्रम स्थलबाट फर्किएका छन्। नेपाली कांग्रेसका पूर्वअध्यक्षहरू पूर्ण सिं लामा र कृष्ण सिं तामाङसहित १ सय ५० भन्दा धेरै कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू फोरममा प्रवेश गरेको घोषणा गरिएको थियो। कार्यक्रममा गणेश लामाका युवाहरूले स्थानीयहरूलाई आक्रमण गर्ने मनसाय नबनाएकाले कम क्षति भएको बताइएको छ। स्थानीयहरूका अनुसार दोहोरो झडपमा लामा समूहले नियन्त्रण गुमाएको भए ठूलो जनको क्षति हुने थियो। गच्छादार सहभागी कार्यक्रममा भिडन्त भएपछि हवाइ फायरसँगै उनलाई राजधानी फर्काइएको थियो। प्रहरी टोली आक्रमणकारीको खोजीका लागि गाउँभर परिचालन गरिएको छ। साँझ अबेर प्रहरी चौकी घेराउ गरेका स्थानीयहरू पक्राउ परेका दुई युवाहरूलाई लिएर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्