बाँकेमा चार दलको जुलुस



नेपाल समाचारपत्र
बाँके
चारवटा दलले संविधान संशोधनविरुद्धमा नेपालगन्जमा प्रदर्शन गरेका छन्। एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेपाल मजदुर किसान पार्टीले विभिन्न नारासहित बजारमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन्।एमाले पार्टी कार्यालयबाट निस्केको प्रदर्शन बीपीचोक, त्रिभुवनचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं सांसद दिनेशचन्द्र यादवले देशलाई विखण्डन गर्ने दिशातिर वर्तमान सरकार अगाडि बढेको आरोप लगाउनुभयो। उहाँले एक र सात नम्बर प्रदेशमा रहेको विवादलाई लिएर पाँच नम्बरमा धावा बोलिएको र यो कुनै हालतमा मान्य नहुने बताउनुभयो।

एमालेका जिल्ला अध्यक्ष अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका गौरीलाल कार्की, नेकपा मालेका नारायण शर्मा र नेपाल मजदुर किसान पार्टीका गौरीकान्त आचार्यले विदेशीको इसारामा लादिएको संशोधन प्रस्तावलाई कुनै हालतमा नमानिने उद्घोष गर्नुभयो। नेताहरूले एक र सात नम्बरको विवादलाई कोट्याउँदै व्यंग्य गरेका छन्– ‘अर्थ न बर्थ गोविन्द गाई, टाउकोको औषधि खुट्टामा लाई।
प्रचण्ड सरकारलाई राष्ट्रघातीदेखि लम्पसारवादको संज्ञा दिदै नेताहरूले राष्ट्र र राष्ट्रियता कमजोर बनाउने प्रस्ताव तुरुन्त फिर्ता लिन चेतावनी दिए। संयुक्त संघर्ष समितिका नामबाट बुझाइएको विरोधमा तत्काल संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने चेतावनी दिइएको छ।

‘प्रधानमन्त्रीज्यू, लोकतन्त्रमा सय प्रतिशत कहाँ हुन्छ? लोकतन्त्रमा सर्वस्वीकार्य कहाँ पाइएको छ? संसद्मा रहेको प्रमुख प्रतिपक्षसहित एक तिहाई संसद्का सदस्यलाई पर धकेलेर दश प्रतिशतका लागि संविधान संशोधन गर्दा सर्वस्वीकार्यको परिभाषा यही हो ? विरोधपत्रमा भनिएको छ, विवाद पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुरमा थियो। तर, वर्तमान सरकार प्रदेश नं. ५ मा घन हान्दै छ। यो समस्या समाधानको विधि कहाँबाट आयातित भयो ? हामी जान्न चाहन्छौं।

प्रतिक्रिया दिनुहोस्