‘स्वयंसेवीले सुविधा खोज्न मिल्दैन



नेपाल समाचारपत्र
काठमाडौं
स्वास्थ्य सर्वेले समेत महिला स्वयंसेविकाको महत्त्वपूर्ण भूमिकाकै कारण नेपालको ग्रामीण भेगमा स्वास्थ्य सेवाको मेरुदण्डकैरूपमा स्वास्थ्य सेवामा उल्लेखनीय भूमिका खेलेको उल्लेख गरिरहँदा स्वास्थ्य मन्त्रालयले भने खुलेर स्वीकार्न सकेको पाइन्न।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका दिन नेपालमा पनि तेह्रौं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो। दिवसको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले महिला स्वास्थ्य स्वयंसेविकाको कार्य स्वयंसेवाको अवधारणाले प्रारम्भ भएकाले यसमा सुविधा खोज्न मिल्दैन भन्नुभयो। उहाँले एक वर्षभित्र हरेक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर बस्ने गरी सेवालाई विस्तार गर्ने लक्ष्य रहेको र यसमा महिला स्वयंसेविकाको भूमिका स्वास्थ्य समस्याअनुसार परिमार्जन हुनुपर्छ भन्नुभयो।

उहाँले अहिले भएका कामभन्दा फरक ढंगले प्रस्तुत हुनुपर्ने हुन्छ र नसक्नेले छोड्नु पनि पर्छ भन्दै स्वयंसेविकाले पैसा पाएनौं भन्नु उचित होइन भन्नुभयो। कार्यक्रममा मन्त्री थापालगायत विभागीय प्रमुखहरूले ललितपुर जिल्लाका ५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू उषा महर्जन, सावित्री खड्का, सान्नानी थापा, रेणु महर्जन र शशी शाह ठकुरीलाई कार्य मूल्यांकनको आधारमा कदरपत्र, दोसल्ला, पुष्पगुच्छा र नगद ६ हजार रुपियाँ प्रदान गरी सम्मान गर्नुभएको थियो।

सोही अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा स्थापित महिला स्वास्थ्य स्वयंसेविकाहरूको कार्यको राज्यले कदर गर्ने र गाउँका ठूला डाक्टर उनै हुन् भन्नुभयो। सोही अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. पुष्पा चौधरीले नेपालमा महिला सशक्तीकरणको ठूलो हिस्सा ओगटेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको संख्यालाई हेर्ने हो भने यतिबेला ५२ हजार रहेको जनाउनुभयो। यो संख्या नेपालको स्वास्थ्य सेवामा कार्यरत कर्मचारीभन्दा बढी रहेको छ। नेपालमा ४० हजारको हाराहारीमा स्वास्थ्यकर्मी रहेका छन्। यिनै महिला स्वयंसेविकाले नेपालको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेलेकै कारण अन्तर्राष्ट्रियरूपमै पहिचान दिन सफल भएको छ।

पुनर्जागरण महाशाखाका निर्देशक महमद दाउदले सेवामा कटिबद्ध महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाकै कारण नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवाको अवस्था बुझ्न सकेको बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरूले आ–आफ्नो वडामा परिवार नियोजन, मातृ स्वास्थ्य, नवशिशु, बाल स्वास्थ्यलगायतका प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको झाडापखाला तथा श्वास प्रश्वास रोग नियन्त्रण, क्षयरोग, कुष्ठरोग, औलोरोग, इन्सेफ्लाइटिस, कालाजार, भिटामिन ‘ए क्याप्सुल खुवाउने तथा निमोनिया भएका बालबालिकालाई घरेलु औषधी उपचार गर्छन्। सरुवा रोगहरूका साथै कुपोषणका बारेमा स्थानीय समुदायका मानिसहरलाई जनचेतना दिने काम गर्छन्। कन्डम र पिल्स चक्की गाउँ–गाउँमा बाड्नका लागि प्रयोग गर्ने अवधारणाबाट शुरु भएको यो सेवा आज मुख्य स्वास्थ्य सेवा प्रभाहको भूमिका निर्वाह गर्ने हदसम्म पुगेको छ। यस वर्षको नारा ‘महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा रहेको छ।

प्रतिक्रिया दिनुहोस्