अखण्ड लुम्बिनीको माग



कविराज नेपाल, पाल्पा
खण्ड लुम्बिनीको माग गर्दै र पहिलेकै अवस्थामा पाल्पालगायतका जिल्लालाई राख्नुपर्ने मागसहित संयुक्त संघर्ष समिति पाल्पाको आह्वानमा भएको आन्दोलन सोमबार पाँचौं दिन पनि पाल्पामा जारी रह्यो। पाल्पालगायत पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउने गरी संविधान संशोधन गर्ने प्रस्ताव संसद्मा दर्ता गरेपछि बुधबारदेखि शुरू भएको आन्दोलनका क्रममा यहाँका राजनीतिक दल, उद्योग वाणिज्य संघलगायत पेसाकर्मीले पनि आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन्।

आन्दोलनका क्रममा सोमबार पाल्पामा संघर्ष समितिले गाउँगाउँबाट हजारौं जनता जिल्ला सदरमुकाम तानसेनमा उतारेका हुन्। यस क्रममा आन्दोलनको साथ जिल्लाबाट निर्वाचित सांसदले पनि दिएका छन्। जिल्लाका सांसदहरू सोमप्रसाद पाण्डे र राधाकृष्ण कँडेल काठमाडौंबाट पाल्पा आएर आन्दोलनमा सहभागी भए।

पहिले पाँच नम्बर प्रदेशमा रहेका पहाडी जिल्लालाई काटेर प्रदेश नम्बर ४ मा राख्ने सीमाड्ढन प्रस्तावप्रति पाल्पाका राजनीतिक दलले उक्त संशोधन प्रस्तावको विरोध र प्रदेश टुक्रइउन नहुने दलहरूले बताउँदै आएका छन्। जसको कारण आन्दोलन दिनप्रतिदिन व्यापक बन्दै गएको छ। दलको आह्वानमा गरिएको बन्दले जनजीवन केही कष्टकर भए पनि मानिसहरू आन्दोलनमा सहभागी भएका छन्। बन्दका कारण यायातात, कलकारखाना, शैक्षिक संस्था र बजार बन्द छ।

सोमबार आयोजित कार्यक्रममा बोल्दै सांसद एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले जनताको समर्थनविना गर्न खोजिएको संविधान संशोधन कुनै पनि हालतमा मान्य नहुने र यो संशोधन फिर्ता गर्नुपर्ने माग गर्नुभयो। अर्का सांसद राधाकृष्ण कँडेलले संविधान संशोधनको कार्य गैरसंवैधानिक भएको तर्क गर्दै वर्षौंदेखि रूपन्देही नवलपरासीलगायतका जिल्लासँग पहाडी जिल्लाको घनिष्ठ सम्बन्ध रहेको र यसलाई कुनै पनि संशोधनले तोड्न नसक्ने जिकिर गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, नेपाली कांग्रेसका सचिव अजयमान कर्माचार्य, राप्रकाका रेवन्तवहादुर विष्ट, नेकपा मालेका अध्यक्ष घनराज पौडेल, अखण्ड नेपालका दिनेश रावललगायतले बोल्दै आन्दोलनले यो संशोधन फिर्ता हुन सरकार बाध्य हुने बताउनुभयो। कार्यक्रम नेकपा एमालेका अध्यक्ष नारायण आचार्यको सञ्चालन र नेपाली कांग्रेसका सभापति वीरबहादुर रानाको सभापतित्वमा भएको थियो।

यसअघि तानसेन टुँडिखेलबाट राष्ट्रिय झन्डासहित निस्केको जुलुस तानसेनका विभिन्न भागको परिक्रमा गरी बसपार्कमा पुगी सभामा परिणत भएको थियो। यो कार्यक्रमा पाल्पाका नागरिक समाज, पत्रकार, प्राध्यापक, व्यापारी, विद्यार्थी संघसंगठन, विभिन्न पेसाकर्मीले पनि साथ दिँदै ऐक्यबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्