मोबाइल फोन आयातकर्ताहरू संगठित



नेपाल समाचारपत्र
काठमाडौं

मोबाइल फोन आयात गर्दै आएका व्यवसायीहरू संगठित भएका छन्। मोबाइल फोन इम्पोटर्स एसोसिएसन गठन गर्दै व्यवसायीहरू संगठित भएका हुन। १६ सदस्यीय एसोसिएसनको अध्यक्षमा आईएमएस प्रालि (सामसुङ) का दीपक मलहोत्रा चयन हुनुभएको छ।

त्यस्तै उपाध्यक्षमा टेलिटक प्रालि (जियोनी तथा कलर्स) का सञ्जय अग्रवाल, महासचिवमा लाइफ कम प्रालि (लेनोभो) का अमृत अग्रवाल चयन हुनुभएको छ। एसोसिएसनमा सिजी मोबाइल प्रालि (सिजी) का रमेशबहादुर श्रेष्ठ, कल मोबिलिटी प्रालि (हुवावे) का पुलकित भिमसरियालगायतका सदस्य रहेका छन्।

नेपालमा अहिले वैधानिकरूपमा २० देखि २५ अर्बको मोबाइल आयात भइरहेको, वार्षिक झण्डै दुई अर्ब रुपियाँ राजस्वमा योगदान दिने गरेको, आयातकर्ताहरूले ३ हजार २ सयलाई प्रत्यक्ष रोजगारी दिएको एसोसिएसनको भनाइ छ। साना ठूला गरी चार हजारभन्दा बढी व्यापारीको सहभागी रहेका मोबाइल व्यवसायमा १० हजार मोबाइल मर्मतमा लागेको, ६० हजारले अप्रत्क्षय रोजगारी पाएको, नेपालभर ३ करोड १ लाख १९ हजार मोबाइल प्रयोगकर्ता रहेको एसोसिएसनले जनाएको छ। यो कुल जनसंख्याको ११३ प्रतिशत रहेको एसोसिएसनको दाबी छ।

मोबाइल आयात गर्ने अन्य कम्पनीहरू भए पनि अहिले संगठित भएकाहरूले नै ९० प्रतिशत हिस्सा ओगट्ने दाबी गर्दै उनीहरूले बाँकीलाई पनि क्रमसः संगठनमा आबद्ध गराउने अध्यक्ष मल्होत्राले जानकारी दिनुभयो। उहाँले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न लागेको ह्वाइट लिस्ट प्रणालीमा आफूहरूको पनि साथ र समर्थन रहेको भन्दै यो लागू भएपछि मोवाइलको अवैध आयात कम गर्न र मोबाइलको सुरक्षा कायम गर्न सहज हुने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्