अन्तिममा चुक्दा नेपाल उपविजेता



नेपाल समाचारपत्र
काठमाडौं

नेपालको फुटसल टोलीले श्रीलङकामा सम्पन्न तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल फाइनलमा आयोजक श्रीलङकासंग २–१ गोल अन्तरल हारेपछि उपविजेता बनेको हो । राउन्ड रोविनको आधारमा खेलाईएको प्रतियोगितामा कम्तिमा बराबरीमा मात्र खेललाई रोक्न सकेको भए मात्र पनि नेपालले उपाधी हात पार्ने थियो । नेपालले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको सातौं मिनेटमा सुभाष घलानको गोलमा अग्रता लिएको नेपालले श्रीलङकालाई पहिलो हाफमा गोल गर्ने कुनै अवसर दिएको थिएन । लगभग उपाधि पक्का जस्तै भइसकेको थियो । तर श्रीलङकाका नादानले खेलको अन्तिममा २ गोल गरेपछि नेपाल उपविजेतामै सीमित भएको थियो ।

“थोरै समय सम्हालिन नसक्दा जित बाट बञ्चित भयौं” – कप्तान साजन महर्जनले भने । उनले छोटो समयको तयारीमा पनि फाइनल सम्मको यात्रा तय गर्न सकेका खुसी ब्यक्त गर्दै टोलीका सम्पूर्ण खेलाडीहरुको मेहनतले यो उपलब्धी हासिल गर्न सफल भएको बताए । उनले आगामी दिनमा राज्यले यस खेललाई सहयोग पुर्याउने हो भने नेपाल दक्षिण एशियामा उत्कृष्ट टिममा पर्नेमा दुई मत नभएको बताए ।
नेपाल फुटसल संघको स्थापना पश्चात छोटो अवधीको तयारीमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकोमा दोश्रो स्थानमा चित्त बुझाउनु परेता पनि यो नेपालको लागि ठुलो उपलब्धि भएको संघका अध्यक्ष देवकुमार अधिकारी “बद्रि”ले बताए । उनले आगामी दिनमा यो खेलको भविष्य रहेकोले यसलाई अझ उचाईमा पुर्याउन कुनै कसर बाँकी नराख्ने बताए ।

विभिन्न स्थानमा छरिएर रहेको फुटसललाई संगठित रुपमा विकास र विस्तार गर्ने उद्धेश्यले हालै मात्र राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ दर्ता भएको हो । नेपालले पाँच राष्ट्र सहभागि प्रतियोगितामा भारतलाई ५–०, मालदिभ्सलाई ३–२ र पाकिस्तानलाई ९–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्