बर्नमाउथद्वारा लिभरपुल पराजित



लन्डन, (एजेन्सी)

इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बर्नमाउथद्धारा लिभरपुल पराजित भएको छ ।बलियो लिभरपुललाई बर्नमाउथले ४–३ ले पराजित गरेको हो । कुनै समय १–३ ले पछि परेको बर्नमाउथले उत्कृष्ट पुनरागमन गर्दै लिभरपुलसँग तीन अंक खोस्न सफल भयो । खेलको पहिलो हाफसम्म लिभरपुल २–० ले अघि रहेको थियो ।

लिभरपुलका तर्फबाट खेलको २०औं मिनेटमा सादियो माने र २२औं मिनेटमा दिभोक ओरिगिले गोल गरेका थिए। तर दोस्रो हाफमा भने खेलले अर्कै मोड लियो ।

खेलको ५६औं मिनेटमा विल्सनले पेनाल्टीमार्फत गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काउने छांटकांट देखाएका थिए । गोल पÞmार्काएको आठ मिनेट नबित्दै क्यानले गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढेको थियो । तर खेलको बाँकी समयमा लिभरपुल सम्हालिन नसकेपछि लगालग तीन गोल बेहोर्न बाध्य बन्यो ।

बर्नमाउथका तर्फबाट खेलको ७६औं मिनेटमा फ्रेजर, ७८औं मिनेटमा कुक र इन्जुरी समयमा आकेले गोल गरेपछि लिभरपुलको हार सुनिश्चित बन्यो ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको अर्को खेलमा म्यान्चेस्टर यु्नाईटेडलाई एभर्टनले १–१ गोलको बराबरीमा रोकेको छ । म्यानचेस्टर युनाइटेडले आइतबार राति पनि इंग्लिस प्रिमियर लिगमा जितको खडेरी तोड्न सकेन । एभर्टनसँगको खेलमा अन्तिम समयसम्म १–० ले अघि रहेको म्यानचेस्टर युनाइटेड आफ्नै गल्तीका कारण १–१ को नतिजा आत्मसात गर्न बाध्य बनेको हो । युनाइटेडका लागि खेलको ८५औं मिनेटमा मैदान प्रवेश गरेका मारोवान फेलाइनी महंगा साबित भए । जितलाई सहज बनाउन मैदान प्रवेश गरेका फेलाइनीले पहिलो प्रयासमा नै फल गरेपछि एर्भटनले पेनाल्टी पायो ।

जसलाई सदुपयोग गर्दै घरेलु टोली एभर्टनका लागि लेग्टन बेइन्सले ८९औं मिनेटमा गोल गरे । यसअघि खेलको ४२औं मिनेटमा जाल्टन इब्राहिमोभिचको आकर्षक गोलबाट म्यानचेस्टर युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । तर फेलाइनीले एभर्टनका इद्रिसा गायलाई गरेको फल म्यानचेस्टर युनाइटेडका लागि निकै घातक बन्यो । युनाइटेड प्रिमियर लिगका पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ । १४ खेलबाट २१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ भने २० अंकसहित एभर्टन आठौंमा छ ।

आइतबार रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ३१ अंक जोडेको आर्सेनल दोस्रो स्थानमा रहंदा समान ३० अंक सहित लिभरपुल र म्यानचेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्