तमिलनाडुकी मुख्यमन्त्री जयललिताको स्वास्थ्यस्थिति गम्भिर



नयाँदिल्ली, (एजेन्सी)

तमिलनाडुकी मुख्यमन्त्री जयललिताका समर्थकहरूले अपोलो अस्पतालबाहिर तोडफोड गरेका छन्। समर्थकहरूले कुर्सी फ्याँकेको तस्विर भारतीय टिभी च्यानलहरूमा देखाइएको छ।

अपोलो अस्पतालले जारी गरिएको ट्विटमा डाक्टरहरूको टोलीले जयललितालाई बचाउने पूर्ण प्रयास भइरहेको उल्लेख गरिएको छ। सोमबार बिहान अपोलो अस्पतालमा नै विधायकहरूको बैठक बोलाइएको छ। उक्त बैठकमा आपातकालीन स्थितिका लागि महत्त्वपूर्ण निर्णय लिएको जनाइएको छ।

चिकित्सकहरूका अनुसार आइतबार अपराह्न स्थानीय समय करीब ३ बजे जयललितालाई हृदयघात भएको थियो त्यसको लगत्तै विशेषज्ञ चिकित्सकहरूको टोलीको निगरानीमा चेन्नाइस्थित अपोलो अस्पतालमा उनको उपचार भइरहेको छ।

६८ वर्षीय जयललितालाई अपोलो अस्पतालको सीसीयूमा हार्ट एसिस्ट डिभाइसमा राखिएको छ।जयललिता विगत ७३ दिनदेखि अपोलो अस्पतालमा भर्ना भइरहेकी हुन् र आइतबार मात्रै पार्टीको तर्फबाट उनको स्वास्थ्यस्थिति पूर्ण रूपमा ठीक भएको जानकारी दिइएको थियो।

यसबीच केही भारतीय सञ्चार माध्यमले जयललिताको निधन भएको समाचार प्रशारण गरेपछि चेन्नाइमा एमआइडीके पार्टी कार्यालयमा झन्डा आधा झुकाएको थियो। तरपछि उनको निधनको समाचार गलत भएको बाहिर आएपछि केही मिनेटमा त्यसलाई माथि उठाएको थियो। अस्पतालले जयललिताको निधनको समाचार गलत भएको र उनको उपचार भइरहेको जानकारी दिएको थियो।

विधायकहरूको उक्त बैठकमा जयललिताको बिग्रँदो स्थितिलाई ध्यानमा राख्दै अत्यन्त खराब परिस्थिति आएमा उनको जिम्मेवारी पनिरसेल्बमलाई सुम्पनेमा आमसहमति बनेको छ। यसैबीच चेन्नाइका प्रहरी आयुक्तले विज्ञप्ती जारी गर्दै सबै प्रहरीलाई अर्को आदेश नआएसम्मका लागि ड्युटीमा तैनाथमा रहने जानकारी दिएको छ। सम्पूर्ण चेन्नाइमा सतर्क राखिएको छ। सबै प्रहरी चौकीहरूमा सुरक्षाका लागि आवश्यक निम्नतम् प्रहरी मात्र राख्न र बाँकी प्रहरीबललाई ड्युटीमा तयार राख्न भनिएको छ।

आइतबार राति हृदयघातपछि जयललिताको अस्पतालमा उपचार भइरहेको छ। त्यही बेलादेखि पनिरसेल्बमले नै उनको कार्यभार सम्हालेका छन्। यसैबीच जयललिताको स्वास्थ्यस्थितिका बारेमा लन्डन ब्रिज अस्पताका डाक्टर रिचर्ड बेयएले विज्ञप्ती जारी गरेको छ। प्रोफेसर रिचर्ड अपोलो अस्पतालमा जयललिताको स्वास्थ्य उपचारमा सल्लाह तथा निगरानी राख्ने चिकित्सकहरूमध्येका एक हुन्। अपोलो अस्पतालले जारी गरेको विज्ञप्तीमा एम्स र अपोलोका चिकित्सकहरूको टोलीले जयललिताको लगातार उपचार गरिरहेको उल्लेख गरेको छ।

डाक्टर रिचर्डले जयललिताको स्वास्थ्य स्थितिलाई विशेष निगरानी भइरहेको बताए।‘दुर्भाग्यवस उनको स्वास्थ्यस्थिति अत्यन्त नाजुक बनेको र यो स्थिति अझ खराब र नराम्रो हुनसक्छ। तर यो पीडाबाट उनलाई उकास्न हामीबाट जतिसक्दो प्रयास हुनेछ भन्ने कुराको सुनिश्चित गराउन चाहन्छु उनले बताए।

प्रतिक्रिया दिनुहोस्