थाई नरेशको फेसबुक प्रोफाइल शेयर गर्ने पक्राउ



बैंकक, (एजेन्सी)

थाइल्यान्डको सेना समर्थित सरकारले एक जना विरोधी जातुपात बुनपात्ताराक्सालाई पक्राउ गरेको छ। राजगद्दीमा बसेका नयाँराजा माहा वाजिरालोङकार्नको फेसबुक प्रोफाइल शेयर गरेपछि उनलाई पक्राउ गरिएको हो।

उनलाई कडा शाही मानहानी कानुनअन्तर्गत राजतन्त्रको अपमान गरेको आरोप लगाइएको छ। बीबीसी थाईमा प्रकाशित नयाँराजाको प्रोफाइललाई उनले आफ्नो फेसबुक पेजमा शेयर गरेका थिए। जातुपातलाई उत्तरपूर्वी थाइल्यान्डमा पक्राउ गरिएको हो। उनी यसअघि पनि सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भइसकेका थिए। जातुपातको अभियोग प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

आफ्ना पिताको निधन भएको करिब दुई महिनापछि राजा माहा वाजिरालोङकार्नको गत बिहीबार गद्दी आरोहण भएको थियो। ६४ वर्षीय नरेश माहा वाजिरालोङकानले आधिकारिकरूपमा राजकाज सम्हालेपछि राजशाही अपमानको अभियोग लगाइएका जातुपात पहिलो व्यक्ति भएको जनाइएको छ।

मानव अधिकार समूहले सेना समर्थित सरकार शाही मानहानी कानुनको प्रयोग आफ्ना विरोधिविरुद्ध गरिरहेको आरोप लगाएका छन्। नरेश वाजिरालोङकार्नका पिता अत्यन्त सम्मानित नरेश भूमिबल अदुल्यादेज ८८ वर्षको उमेरमा ७ दशक राजगद्दीमा बसेपछि गत अक्टोबर १३ मा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्