आयोजक फरार भएपछि सौन्दर्य प्रतियोगिता अलपत्र



पोखरा, (नेस)। बाहिर निकै जाडो थियो, हलमा सर्वसाधारण गुम्सिएका थिए। चिसोले सताए पनि हलभित्रको माहोल निकै गर्माएको थियो। युवतीहरु निकै उत्सुक थिए शिरमा ताज पहिरिन। भइदियो चाहिँ उल्टो।

शिरमा ताज लगाउने बेलामा आयोजक नै गायब भइदिए। खोज्दै तनाब भयो। अन्त्यमा प्रतियोगिता नै अलपत्र पर्यो। आयोजक खोज्दैमा सर्वसाधारणलाई हैरान भयो। यसरी पोखरा सभागृहमा एउटा यस्तो सौन्दर्य प्रतियोगिता भयो जसमा विजेता घोषणा गर्न नपाई आयोजक नै बेपत्ता भए। प्रतियोगिताको ताज पहिरिने उद्देश्यले अन्तिम प्रतिस्पर्धामा उत्रिएका युवायुवती त्यति बेला निरास भए, जतिबेला अन्तिम समयमा आयोजक गायब भए। प्रतियोगिताको विजेता घोषणा गर्ने समयमा आयोजक नै भागेपछि पोखरा सभागृहमा केही बेर तनाबको अवस्था आयो।

नेपाल मोडल्सको ब्यानरमा युवायुवतीका लागि भएको मोडल्स ब्याटल नामक सौन्दर्य प्रतियोगिता विजेता नै घोषणा नगरी अलपत्र परेको हो। प्रतियोगिताका लागि पहिलो चरणमा छनोट भएका ४० युवायुवतीबाट अन्तिम प्रतिस्र्धामा ७ युवती र १० युवा समावेश थिए। युवतीतर्फ मेलिना सुवेदी, आकृति गुइदेल, लक्ष्मी कोइराला, प्रमिला शर्मा, मनु गुरुङ र युना वस्ती अन्तिम प्रतिस्पर्धामा आएका थिए। यीमध्ये सुवेदी, गुइदेल र कोइराला अन्तिम तीनमा छनोट भइसकेका थिए। त्यस्तै युवातर्फ सञ्चित सुवेदी, हरि रिजाल, अर्जुन गहतराज, आवास जोशी, रोशन दवाडी, प्रतीक पराजुली, दीपेश बराल, सागर परियार, विशाल रानाभाट र अशोक भण्डारी अन्तिम प्रतिस्पर्धामा थिए। उनीहरुमध्ये पनि सञ्चित, हरि र अर्जुन अन्तिम तीनमा छनोट भइसकेका थिए।

निर्णायकमा रहेका फिल्म निर्देशक नेत्र गुरुङ, उषा खड्गी र जिपी तिमल्सिनाले विजेता, फष्ट रनरर्सअप र सेकेण्ड रनर्सअपको नाम आयोजकलाई बुझाइसकेका थिए। विजेता घोषणाका लागि युवायुवती दवैतर्फका अन्तिम तीन प्रतिस्पर्धीलाई स्टेजमा बोलाउने तरखर हुँदै गर्दा एक समूहले स्टेज पछाडि रहेको विजेता ट्रफी नै फुटाइदिएका थिए। त्यसपछि शुरू भएको हुलदंगाका कारण आयोजक कार्यक्रमस्थलबाटै बेपत्ता भएका थिए।

आयोजकले युवायुवती दुवैतर्फका विजेतालाई जनही ५० हजार रुपियाँ नगद, एक वर्षसम्म निःशुल्क इन्टरनेट सुविधा, म्यागजिनमा कभर फोटो, म्युजिक भिडियोमा अवसर दिने तथा अल्ट्रालाइट उडानलगायतका पुरस्कार दिने दाबी गरेका थिए।

आयोजक नेपाल मोडल्सका जनार्दन लामिछाने सम्पर्कबाहिर गएपछि प्रतियोगीसहित कार्यक्रममा उपस्थित दर्शक अन्योलमा परेका थिए। कार्यक्रममा विजेताका लागि तयार पारिएको ट्रफी तथा प्रमाणपत्र सबै बोरामा पोको पारेर लगिएको थियो। ‘तीन महिनाको मेहनत खेर गयो⁄, प्रतियोगिताको अन्तिम तीनमा छनोट भएका सञ्चित सुवेदीले भने– ‘प्रतियोगिताको तयारीका लागि ५० हजारभन्दा बढी खर्च भएको थियो।⁄ उनका अनुसार प्रतियोगिताका लागि गत असोज महिनादेखि तयारी भइरहेको थियो। प्रतियोगितामा असन्तुष्ट समूहले तोडफोड शुरू गरेपछि डरले आयोजक फरार भएको स्रोतले बतायो। आयोजकलाई सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन।

प्रतिक्रिया दिनुहोस्