‘यो देश बर्थ डे केक होइन!



काठमाडौ, (नेस)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश कसैको बर्थ डे केक नभएको र जतिखेर मन लाग्यो त्यतिखेर नै काट्न नमिल्ने भएकाले एमाले त्यसको विपक्षमा दह्रो भएर उभिने बताउनुभएको छ।

पार्टीको पछिल्लो निर्णयका बारेमा जानकारी गराउन आयोजना गर्नुभएको सम्पादकसँगको छलफलमा उहाँले अहिलेको संविधानमा संघीयताको विषयमा हेरफेर गर्न सक्ने प्रावधान नै नरहेको जिकिर गर्नुभएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता ओलीले सरकारले संविधान र अदालतको अपहेलना गरेको समेत बताउँदै उहाँले यो राष्ट्रघाती प्रस्तावलाई एमालेले समर्थन नगर्नेसमेत जानकारी गराउनुभएको थियो।

सीमांकन हेरफेर गर्ने सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको र मंगलबार मुद्दाको पेसी रहेको जानकारी गराउनुभएका अध्यक्ष ओलीले सरकारको राष्ट्रघाती प्रस्तावलाई एमालेले टुलुटुलु हेरेर नबस्नेसमेत सम्पादकहरूलाई जानकारी गराउनुभएको थियो। राष्ट्रियताका सवालमा कसैसँग पनि छलफल नहुने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘अनुत्पादक लगानीकर्ता र रोजगारदाताले लगानी गरेर ल्याइएको संविधान संशोधन कुनै हालतमा पास हुन दिँदैनौं।

देशलाई अंशबन्डा गरेर टुक्राटुक्रा बनाउने अधिकार कसैलाई पनि नभएको खरो टिप्पणी गर्नुभएका ओलीले भन्नुभयो– ‘देश कसैको बर्थ डे केक होइन जतिखेर काट्न मनलाग्यो त्यतिखेर नै काट्ने।

प्रतिक्रिया दिनुहोस्