नौबुँदे सहमति



भगवती तिमल्सिना, काठमाडौं

विभिन्न माग राखेर अनशनमा बस्दै आउनुभएका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शुक्रबार मध्यरातमा नौबुँदे सहमति भए पनि डीन नियुक्ति प्रक्रिया पूरा नभएको कारण केसीको अनशन आज शनिबार मात्र तोडिने भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थानमा नयाँ डीन नियुक्ति प्रक्रिया अगाडि बढे पनि कानुनी अड्चनका कारण नियुक्ति प्रक्रिया रोकिएपछि अनशन भने जारी रहेको हो।

यसअघि नियुक्त हुनुभएका डीन केशवराज सिंहले शुक्रबार राजीनामा दिए पनि अनशन प्रक्रिया भने टुंगिएको थिएन। डा. केसीले सिंहको राजीनामासहित नयाँ डीन नियुक्त हुनुपर्ने माग राखेपछि सरकारी वार्ताटोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ताले निष्कर्ष निकाल्न नसकेको हो। दुवै पक्षबीच भएको सहमतिका बारेमा डा. केसीलाई जानकारी गराइएको भए पनि माग पूरा नभएको भन्दै डा. केसीले अनशन तोड्न अस्वीकार गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन।

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती हुनुहुन्थ्यो भने डा. केसीका तर्फबाट प्रतिनिधि डा. लिजन महर्जन, डा. जीवन क्षेत्री, डा. वाईपी सिंहलगायतको टोली रहेको थियो। लगातार ४ दिनदेखि बसेको वार्ता शुक्रबार मध्यरातसम्म जारी रहेर पनि अन्तिम सहमतिमा पुग्न नसकेको हो।

डा. केसीले नयाँ डीन नियुक्त भएपछि आफूले अनशन तोड्ने अडानका कारण वार्ताले सार्थक रूप लिन सकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार नयाँ डीन नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले डा. कुमुद काफ्लेको संयोजकत्वमा डीन खोजी समिति गठन गरेको छ। समितिले नयाँ मापदण्डअनुसार तीन जनाको नाम त्रिविलाई सिफारिस गरेको र यसकै आधारमा शुक्रबार मध्यरातसम्ममा कुनै निर्णय गर्न नसकेपछि वार्ता विनानिष्कर्ष टुंगिएको थियो। डा. केसीले मेडिकल शिक्षाको सुधार र सर्वसाधारणको स्वास्थ्य सेवाको अधिकार सुनिश्चितको माग गर्दै २१ दिनदेखि आमरण अनशन बसेको भए पनि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्