संसद् तातियो



कृष्णराज चौधरी, काठमाडौं

शुक्रबार संसद्को बैठक शुरू भएलगत्तै विषयमा नै प्रवेश नगरी स्थगित भएको छ। शुक्रबार बसेको संसद्को बैठकमा विशेष समय लिएर बोल्दै नेकपा मालेका सांसद सीपी मैनालीले ५ नम्बर प्रदेशका जनताले पनि नमागेको तथा मधेसीले पनि अस्वीकार गरेको कारण कतै प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेन?’ भनेर प्रश्न गरेपछि संसद्को माहोल एकाएक तातिएको थियो।

व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन प्रस्ताव ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन? भनेर पटक पटक प्रश्न गर्नुभएको थियो।

लगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रति नियमापत्ति जनाउनुभएको थियो। प्रधानमन्त्री जस्तो व्यक्तिलाई सो शब्द संसदीय मर्यादा विपरीत भएको भन्दै संसद्को रेकर्डबाट तत्काल हटाउन उहाँले माग गर्नुभएको थियो।

सांसद खतिवडाको समर्थनमा सत्तारूढ दलका सांसदहरूले समर्थन गर्दै होहल्ला गरे। सभामुख ओनसरी घर्तीले यो शब्द रेकर्डबाट हटाउन आदेश दिइन् र प्रक्रिया अघि बढ्यो।

सांसद मैनालीले प्रश्न गर्नुभयो– ‘संविधान संशोधनमा प्रायः सबै दलको मतभिन्नता छ, फरक मत दर्ता छ। तर अरू दलको फरक मत भुस बराबर, मधेसीको मात्रै किन सुनुवाइ?’

सांसद मैनालीले बोलेपछि सभामुख ओनसरी घर्तीले पटक पटक आसन ग्रहण गर्न अनुरोध गरे पनि एमाले, मालेलगायत विपक्षी दलका सांसदहरूले उभिएर समर्थन गरिरहे।

सभामुख घर्तीले शुक्रबारको बैठकमा संविधान संशोधन एजेन्डा नभएको भन्दै बस्न आग्रह गरे पनि अटेर गरिएपछि बैठक स्थगित गरी आइतबारका लागि अर्को बैठक बोलाइएको थियो।

एमाले सांसद नवराज शर्माले जनता, जनप्रतिनिधि कसैले नरुचाएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद् अवरुद्ध जारी रहने जनाउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समस्या तराईको ५ जिल्ला कैलाली तथा कञ्चनपुर अनि झापा, मोरङ र सुनसरीमा थियो। ५ नं प्रदेशलाई बित्थामा चलाएर आगो झोस्ने काम गरियो।’

कांगे्रसका सांसद राजु खनालले सत्तारूढ तथा विपक्षी दलका ठूला नेताहरूले नै समस्या सल्टाउन सक्ने बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी त साना नेता, संसद् चल्न दिए भाग लिने, नभए घाम ताप्ने।’

त्यसै गरी राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधनबारे पार्टीमा खास छलफल नभएको, शनिबार बस्ने पार्टीको बैठकमा यसबारे निर्णय हुने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्