दलहरूबीच छिट्टै सहमतिः प्रचण्ड



काठमाडौं, (नेस)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयक पारित गर्दै संविधान कार्यान्वयन गर्नका लागि राजनीतिक दलहरूबीच छिट्टै सहमति जुटने बताउनुभएको छ। उहाँले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको बताउँदै छिटै राजनीतिक दलहरूबीच सहमति जुट्ने बताउनुभएको हो।

२५ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा बालुवाटारमा विभिन्न संगठनहरूद्वारा संयुक्त रूपमा शुक्रबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘हामीले विश्वका विकसित भनिएका देशका संविधान पनि हेरेका छौं। हाम्रो संविधान अपाङ्गहरूको अधिकार र सहज जीवनयापनका लागि पूर्ण छैन। तर, अपाङ्गमैत्री छ। यसको सफल कार्यान्वयन गर्न सक्दा धेरै अधिकारहरू प्राप्त हुनेछन्।’ संविधानले राष्ट्रिय सभामा अपाङ्गहरूको प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउँदै स्थानीय तहदेखि नै नीति निर्माणमा अपाङ्गहरूको प्रतिनिधित्व गराउनेतिर सरकार लाग्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्रीको नेतृत्वमा रहेको अपाङ्गता अधिकारसम्बन्धी डेक्सलाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाउने बताउँदै भन्नुभयो,‘मेरो नेतृत्वमा भएको डेक्सलाई तुरुन्तै सक्रिय बनाएर कामको थालनी गर्छु। अपाङ्गहरूको जीवन निर्वाह भत्ता ज्यादै न्यून छ, यसलाई बढाउन पहल गर्नेछु। निजामती र सरकारी सेवामा रहेका अपाङ्ग कर्मचारीहरूले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पहल गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्