संविधान संशोधन प्रस्ताव परिमार्जन भए समर्थनः ठाकुर



नेपाल समाचारपत्र
काठमाडौं

मधेशी मोर्चाका शीर्ष नेता एवम् तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन भएपछि मात्रै त्यसलाई पारित गराउन मोर्चाले समर्थन गर्न सक्ने बताउनुभएको छ। सीमांकनमा राज्य पुनर्संरचना आयोगले अघि सारेको प्रतिवेदनअनुसार प्रस्ताव परिमार्जन भए समर्थन गर्ने बताउनुभएको हो।

उहाँले अहिले आएको प्रदेशको सीमांकन सम्बन्धी संशोधनले आफूहरूको माग सम्बोधन नगरेको भन्दै त्यसलाई आफूहरूले भनेबमोजिम परिमार्जन गर्नुपर्ने बताउँदै अन्तरिम संविधानमा किटेरै मधेशीहरूको चाहनाअनुरूप संघको विषयमा र स्वायत्त प्रदेशको विषयमा मधेशमा स्वायत्त प्रदेश बन्ने छ उल्लेख हुँदासमेत अहिले आएको प्रस्तावले सम्बोधन गर्न नसकेको बताउनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वयम आफूहरूको सहमतिका लागि गठबन्धनको बैठक बोलाइएको बताउँदै ठाकुरले भन्नुभयो– ‘संशोधनका कन्टेन्टको विषयमा अहिले सहमति सम्भव छैन, आएपछि संशोधनको अवस्था रहन्छ, तपार्इंहरूले आफ्नो कुरा भन्ने अवस्था रहन्छ भनेर यतिसम्म उहाँले भन्नुभएको थियो, तर कन्टेन्टको बारेमा उहाँले केही भन्नुभएको थिएन्।’

यथास्थितिमा उक्त प्रस्तावलाई मोर्चाले स्विकार गर्न अप्ठ्यारो महसुस गरिरहेको बताउँदै प्रस्ताव परिमार्जन भएपछि विचार गर्ने बताउनुभयो। प्रदेशको सीमांकनको विवाद समाधानको नाममा एउटा जिल्लालाई डिभाइड गर्न हुने तर अरू जिल्ला जुन विवादित छन् तिनीहरूलाई आयोगको प्रतिवेदनअनुसार किन डिभाइड गर्न नहुने प्रश्न गर्दै उहाँले भाषाको विषयमा अहिलेको संशोधन प्रस्ताव अपूरो रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्