लैंगिक हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम



भक्तपुर, (नेस)

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानअन्तर्गत शुक्रबार भक्तपुरमा लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। महानगरीय प्रहरी बृत्त ठिमी र सामुदायिक विकास केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले समाजमा महिला हिंसालाई निषेध र निरुत्साहित गरी मर्यादित समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

कायक्रममा बोल्दै महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले अन्धविश्वास र चेतनाको कमीले गर्दा अहिले पनि समाजमा महिलाले हिंसा, विभेद र पीडा खप्न बाध्य भएको बताउँदै समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनुपर्ने बताउनुभयो। सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रकुमार बोगटीले महिलाविरुद्ध हिंसा गर्नेलाई कानुनी कारबाही गर्न राज्य संयन्त्र प्रभावकारी हुनुपर्ने बताउनुभयो।

प्रहरी बृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले पछिल्लो समयमा महिला सक्षम भएका र उनीहरूमा सचेतता बढेका कारण महिला हिंसा घट्दो क्रममा रहेको र बृत्तमा यस्ता उजुरी न्युन परेको बताउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, मध्यपुर थिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ तथा स्थानीय नागरिक अगुवा तथा बुद्धिजीवीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरूले समाजमा सम्मान र प्रतिष्ठाकासाथ बाँच्न पाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीले लैङ्गिक हिंसाबारे गुनासो र जिज्ञासा राखेका थिए।

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान २०१६ गत शुक्रबारदेखि शुरु भएको हो।महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्