अरुण एक्सप्रेसमा पवन आलोक

75

किरण श्रेष्ठ
पवन आलोक नेपाली साहित्यमा विभिन्न विधामार्फत साहित्य लेख्दै आएका एक साहित्यकार । साहित्यिक अभियानमा नेपाल स्रष्टा समाजका सक्रिय अभियन्ता । पवन कंडेलको साहित्यिक नाम हो– पवन आलोक । यिनै आलोक भर्खरै ‘अरुण एक्सप्रेस’ नामक यात्रा उपन्यास लिएर पाठकसमक्ष देखा परेका छन् । अठार अध्यायमा विभाजित गरिएको यस उपन्यासका मुख्य पात्र रमेशले भोग्दै गरेका सङ्घर्षका व्यथाहरू, प्रेमभित्रका प्रेमिल तरङ्गहरू देख्दै अनुभूत गरेका चिन्तन–स्पर्शहरू कथाका रुपमा सम्प्रेषित छन् । रमेश र सुमनका मित्रता र वार्तालापलाई मुख्य आधार र विषय बनाइएको यस उपन्यासमा सीताको आत्महत्याले पुर्याइदिएको चोट–मर्मले रमेशलाई बहुलाजस्तै बनाइदिएका प्रसङ्गहरू निकै मार्मिक र चोटिला छन् ।

यात्रा उपन्यास नाम दिएर नयाँ प्रयोग भनिएको यस पुस्तकमा अरुण नदी आसपासका भौगोलिक वर्णनहरूका साथै जनजीवनको चित्रण सुन्दर ढङ्गले भएका छन् । उपन्यासमा साँचो प्रेमको मार्मिकता कस्तो प्रभावकारी हुन्छ र प्रेमकथाले पाठकको मनमा कसरी स्पर्श गराउँछ, त्यसको बोध हुने यस उपन्यासमा कथा–व्यथा छन् । २०३६ सालको जनमतसङ्ग्रह, २०४६ को जनआन्दोलन र २०६२⁄६३ को दोस्रो जनआन्दोलन सबै देखेका रमेशले परिवर्तन व्यवस्थाको भए पनि संस्कार, परिपाटी केही फेरबदल नभएकोमा आश्चर्य व्यक्त गर्छन् । त्यसैले रमेश गुन्छन् र भन्छन्– ‘जसलाई कानुन नै लाग्दैनथ्यो, उनीहरूलाई जुन तन्त्र आए पनि फरक नपर्ने रहेछ । समस्या त हामीजस्ता साना मानिसलाई मात्र रहेछ । हिजो पञ्चायत कालमा पनि हामी पेलियौं, हेपियौं ।

बहुदलमा पनि कुनै कुरा फरक भएन । र, अहिले गणतन्त्रमा पनि त्यस्तो के नै परिवर्तन भएको छ र ? यस यात्रा उपन्यासमा पञ्चायत कालको निरंकुशता देखिँदो परिवेश, प्रजातन्त्र र गणतन्त्र आउँदा पनि देशको रुपरङ्ग नफेरिँदाका दृश्य–परिदृश्य र प्रेम प्रसंङ्गहरूलाई लेखकले व्यक्त गरेका छन् ।’

उपन्यासमा चीन, फिलिपिन्स, पाकिस्तान, हङकङ, बैंकक, श्रीलङ्काका केही ठाउँहरूको वर्णन सटिक ढङ्गले भएका छन् । त्यसैले लेखक आलोकले यस पुस्तकलाई यात्रा उपन्यास भन्न रुचाए । सीताले प्रेम र जीवनप्रतिको हार अरुण नदीमा अर्पण गरेजस्तै रमेशले पनि अन्तिममा सीतालाई बिर्सन नसकेर अरुणमा नै आफूलाई अर्पण गर्न दिएर उपन्यासको अन्त्य गराइएको छ । प्रेममय जीवनका कथा–पात्र रमेशको समग्र जीवनका आरोह–अवरोहमा उनका यात्रा वर्णनसमेत समेटिएको यस यात्रा–उपन्यास शोकमा अन्त्य गराइएको छ । सङ्क्षेपमा भन्नुपर्दा ‘अरुण एक्सप्रेस’ प्रेमकै पीडामा अन्त्य गराइएको पीडा र दुःखको पनि उपन्यास हो । जसलाई सार्थक पनि भन्न सकिन्छ अर्थात् निरर्थक भनेर आलोचना गर्नेहरू पनि होलान् !

LEAVE A REPLY