इरानमाथिको आर्थिक प्रतिबन्ध १० वर्ष थपियो



वासिङ्टन, (एजेन्सी)

अमेरिकी सिनेटले इरानमाथिको आर्थिक प्रतिबन्ध १० वर्षका लागि बढाएको छ। उक्त प्रतिबन्धअनुसार इरानसँग कुनै प्रकारको व्यापार गर्ने अमेरिकी कम्पनीलाई दण्डित गर्न सक्नेछ।

इरानले अमेरिकी सिनेटको उक्त फैसलालाई ऊ र ६ अन्य महाशक्ति राष्ट्रबीच भएको परमाणु सम्झौताको उल्लंघन भएको बताएको छ। यसअघि ओबामा प्रशासनले इरानमाथि लगाउँदै आइरहेको प्रतिबन्धलाई बढाउनु कुनै आवश्यक नभएको बताएका थिए। तर रिपब्लिकन पार्टीको बहुमत रहेको कंग्रेसले आर्थिक प्रतिबन्ध बढाउनु आवश्यक भएको तर्क दिएका छन्।

यसले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धेरै अधिकार प्राप्त हुने उनीहरूको तर्क रहेको छ।यदि इरान गत वर्ष सम्पन्न परमाणु सम्झौता लागु गर्न असफल भएमा उसलाई दण्डित गर्न अमेरिकालाई सजिलो हुने कंग्रेसको तर्कको रहेको छ। त्यसैले यो प्रतिबन्ध लम्ब्याउन आवश्यक भएको जनाएको छ।

यसअघि बीबीसीसँगको एउटा विशेष कुराकानीमा अमेरिकी जासुसी एजेन्सी सीआईएका प्रमुखले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सचेत गराउँदै इरानसँगको परमाणु सम्झौता अन्त्य गर्नु विनाशकारी र मूर्खतापूर्ण हुने बताएका थिए।

सीआईएका निर्देशक जोन ब्रेननले सिरियामा स्थिति बिग्रनुमा रुसलाई जिम्मेवार ठहर्याउँदै ट्रम्पलाई रुससँग होसियार रहन सल्लाह दिएका थिए।

प्रतिक्रिया दिनुहोस्