मनोनयनमा पर्नेको नजरमा को बन्छ विजेता



सबैजना उत्कृष्टः दीपेन्द्र के खनाल
खै त्यो भन्न सक्दिनँ। कुन फिल्मले बेस्ट फिल्मको अवार्ड पाउँछ, त्यो त जुरीको निर्णयमा भर पर्ने कुरा हो। सबै जना उत्कृष्ट नै हुनुहुन्छ। मलाई त आइडिया नै छैन कस्ले जित्छ भनेर।

यो जुरीको कुरा होः विकास आचार्य
यो त जुरीले भन्ने कुरा हो नि। सबै फिल्म उत्कृष्ट नै छन्। नेपाली फिल्मी क्षेत्रलाई कामनाले निकै योगदान दिएको छ। कामना फिल्म अवार्डको नोमिनेसनमा मेरो फिल्म पर्नु भनेको नै ठूलो कुरा हो। सबै फिल्म दर्शकले मन पराएकै फिल्म हुन्। मेरो फिल्मले पनि अवार्ड पाओस् भन्ने त लाग्छ नै तर निर्णय जुरीका हातमा हुन्छ। निर्देशन विधामा पनि राम्रा राम्रा निर्देशकहरू नै मनोनयनमा पर्नुभएको छ। सबैले योगदान दिएका छन्। अवार्ड त जुरीको निर्णयले दिने कुरो हो, मैले अहिले नै यस्ले पाउँछ भन्नु त जुरीको निर्णयलाई हस्तक्षेप गरेजस्तो हुन्छ।

ड्रिम्सले पाउँछ निः भुवन केसी
सिम्पल कुरा, जुन फिल्म सुपरहिट छ, त्यही फिल्मले अवार्ड पाउँछ, त्यसैको निर्देशकले जित्छ। मैले र ड्रिम्सले नै पाउँछ नि। व्यावसायिक सफलता, टेक्निकल एङ्गल हरेक हिसाबले हेर्ने हो भने ड्रिम्सले अवार्ड पाउर्नुे हो। तर जुरीले कुन क्याटगोरीमा अवार्ड दिने हो। पशुपतिप्रसाद पनि उत्कृष्ट फिल्म बनेको छ। यदि नेपालीपन नेपाली विषयवस्तु भएको फिल्ममा अवार्ड दिने हो भने त पशुपतिप्रसादले पाउँछ। मेरो फिल्म मोर्डन खालको फिल्म हो।

सबै फिल्म राम्रा छन्ः सुवास गिरी
सबै फिल्महरू राम्रो भएर नै मनोनयनमा परेको हो। सबै फिल्मले केही न केही अवार्ड पाई नै रहेका छन्। कुन फिल्म उत्कृष्ट हुन्छ भन्ने कुरा त जुरीले निर्णय गर्ने कुरा हो।

awardsमैले नै पाउँछुः उज्ज्वल घिमिरे
उत्कृष्ट निर्देशकको अवार्ड त मैले नै पाउँछु नि। किनभने मैले मेहनत गरेको छु। अरूले भन्दा राम्रो काम गरेको छु। त्यसैले मैले नै पाउँछु।

निर्देशकको अवार्ड मेरैः सुदर्शन थापा
निर्देशकको अवार्ड मैले नै पाउँछु। नत्र कसले पाउँछ थाहा छैन। प्रेमगीतमा मैले राम्रो मेहनत गरेको छु। अन्य फिल्महरूभन्दा फरक छ प्रेमगीत यसमा मेरो क्षमता देखिएको छ। निर्देशकको कुरा पनि त्यस्तै हो।

मैले नै पाउनुपर्छ भन्ने छैनः दिनेश राउत
मलाई त निर्देशकको अवार्ड मैले पाउँछु जस्तो लाग्छ। आफूमा पनि विश्वास हुनुपर्छ नि। मैले अरूसँग आफूलाई तुलना गरेको हैन, आफूसँग आफैलाई तुलना गरेर भनेको हो। नोमिनेसनमा पर्नु नै ठूलो कुरा हो नि। तर मैले नै पाउन पर्छ भन्ने छैन।

मैले बोल्न मिल्दैनः खगेन्द्र लामिछाने
मैले आजसम्म कुनै पनि अवार्डमा भाग लिएको पनि छैन। आम मान्छे भएको भए भन्न मिल्थ्यो कसले अवार्ड जित्छ भनेर, त्यस कारण मैले यस विषयमा बोल्न मिल्दैन। म आफ्नो विचारअनुसार चल्छु। त्यस कारण नै म कुनै अवार्ड कार्यक्रममा जाँदिनँ, अहिलेसम्म कुनै अवार्ड कार्यक्रममा देख्नुभा छ र? देखेको भए गाली गर्नुहोला।

जसले जिते पनि खुसीः अनमोल केसी
कसले अवार्ड जित्छ त म भन्न सक्दिनँ, तर जसले जिते पनि मलाई खुसी नै लाग्छ। बाँकी त जुरीको हातमा छ।

मैले राम्रो गरेको छैनः सौगात मल्ल
मैले मनोनयनमा परेका कुनै पनि फिल्म हेरेको छैन। मैले राम्रो गरेको छु। तर अरूको मुभी नै नहेरेकाले गर्दा कसले अवार्ड पाउँछ आइडिया नै छैन।

विपिनले राम्रो गरेको छः राजाराम पौडेल
मेरो विचारमा नयाँ कलाकारले धेरै राम्रो गरेका छन्। मुरलीधरजी, विपिन कार्कीलगायतले निकै राम्रो गर्नुभएको छ र पनि मैले आजसम्म नभेटेको र मनले खाको कलाकारचाहिँ विपिन कार्की हो। यदि निष्पक्षरूपमा अवार्ड भए विपिनजीले नै उतकृष्ट खलपात्रको अवार्ड जित्नुहुन्छ जस्तो लाग्छ। वास्तवमा म हरपात्र हैन, प्रेमगीतमा मेरो उपस्थितिले नयाँ मोड लिने हो। अन्य चरित्रहरूमा म हास्य कलाकारको रूपमा बढी काम गरेको छु र दर्शकले पनि मलाई खलपात्रको रूपमा चिन्दैनन्। त्यस कारण मलाई मैले जित्छु जस्तो लाग्दैन। अवार्ड त मान्छेले हैन क्यारेक्टरले जित्ने हो।

विपिनले जित्छः वसन्त भट्ट
मैले फिल्म हेरेअनुसार चाहिँ विपिनले जित्छ जस्तो लाग्छ। किनभने उसको अभिनय राम्रो छ। मलाई उसको क्यारेक्टर मन परेकोले मैले मूल्यांकन गर्नुपर्दा उसले जित्छ भनेको हो। आफूले नै जित्छु भनेर त कसरी आफैलाई मूल्याङ्कन गर्नु? मैले अरूको मूल्याङ्कन गरें भने अरूले मेरो मूल्याङ्कन त जुरीले गर्लान् नि। अवार्ड जसले पाए पनि राम्रै मान्छेले पाउँछन्।

म त भन्न सक्दिनँः विपिन कार्की
खै मैले त नोमिनेसनमा परेको कसैको पनि काम हेरेको छैन। हेरेको भए भन्न सजिलो हुन्थ्यो, नहेरी त कसरी भन्नु? नोमिनेसनमा परेका सबै सिनियरहरू नै हुनुहुन्छ। मैले पनि धेरै अवार्डहरू त पाइरहेकै छु, खै म त भन्नै सक्दिनँ।

विपिनको काम राम्रो छः अनुप बराल
मेरो विचारमा विपिनले पशुपतिप्रसादमा धेरै राम्रो काम गरेको छ। त्यसकारण उसले जित्छ जस्तो लाग्छ। ऊ राम्रो कलाकार हो, निकै राम्रो अभिनय गरेको छ। मैले अरूको फिल्म हेरेको छैन। उसको चाहिँ हेरेको र नजिकको साथी पनि भएकाले उसले नै जित्छ जस्तो लागेको छ। आफूले आफैलाई एकदम खतरा काम गरेको छु, मैले नै जित्छु भन्न पनि सकिँदैन। मेरो कामको बारे अरूले भन्ने हो नि।

उत्कृष्ट सहअभिनेताः टीका पहाडी
अवार्ड दिने तपाईंहरू अनि हामीलाई कसरी थाहा हुन्छ त? कि त कामना ग्रुप कि दर्शकलाई थाहा होला यो कुरा त। हामीले मेहनत गरेर उचाइमा पुग्नु त हाम्रो काम हो। राम्रो भएर नै टप ५ मा परेको छौं। अब अवार्ड पाउने भाग्यको कुरा हो। जसले अवार्ड पाउँछ त्यो लक्की हो। कामले त टप ५ मा परेर अवार्ड पाइसकेको छ अब भाग्यले अवार्ड दिने पालो। जजहरूले त्यति धेरै मेहनत गरेर नोमिनेसनमा राखेका छन्। मैले एकैचोटीमा यसले पाउँछ भनेर गेस गर्न सक्दिनँ।

दयाहाङको अगाडि म केही होइनः सरोज खनाल
सहअभिनेतामा दयाहाङ राई धेरै राम्रो कलाकार हो। मैले पनि राम्रो नै गरेको छु। त्यही भएर त नोमिनेसनमा परेको होला नि। तर दयाहाङको अगाडि म केही हैन, त्यसकारण उसले पाउँछ।

पाँचै जना प्रतिस्पर्धी हुन्ः वसन्त सापकोटा
पाँचै जना प्रतिस्पर्धि हुन् र पनि मेरो विचारमा राजनराज सिवाकोटीले सर्वोत्कृष्ट गीतकारको उपाधि पाउँछजस्तो लाग्छ। आफूमा आँट छैन भन्न खोजेको हैन। प्रतिस्पर्धामा आउँदाचाहिँ गीत रुचाइएको कारणले राजनराज सिवाकाटीले जित्छ भन्ने लाग्छ।

सुर्के थैलीले पाउँछः राजनराज सिवाकोटी
यो अवार्ड कसले पाउनेभन्दा पनि जनताले मन पराएको आधारमा भन्ने हो भने पक्कै पनि अवार्ड मैले नै पाउँछु। कुनै पनि अवार्ड भन्ने कुरा व्यक्तिले हैन, गीतले पाउने हो, शब्दले पाउने हो। जनताले रोजेको गीत भएका कारण पनि यो अवार्ड सुर्कै थैलीले नै पाउँछजस्तो लाग्छ। गायनमा त भन्न सक्दिनँ।

जुरीको हातमा छोडौं नः ताराप्रकाश लिम्बु
अवार्ड यसले लान्छ, उसले लान्छ भन्दा पनि यति धेरै गीतबाट छानिएर उत्कृष्ट ५ मा पर्नु नै ठूलो कुरा हो। म आफै पनि आशावादी छु अवार्ड पाउने कुरामा, अरूको पनि राम्रो काम छ। नामै तोकेर भन्न सकिन्न। बाँकी जुरीको हातमा छोडौं न।

कृष्णहरिजीले पाउनुहुन्छः दिनेश राउत
मेरो विचारमा कृष्णहरि (बराल) जीले सर्वोत्कृष्ट गीतकारको अवार्ड पाउनुहुन्छ। उहाँ हामीभन्दा सिनियर र बौद्धिक हुनुहुन्छ, त्यस हिसाबले पनि उहाँले नै जित्नुहुन्छ जस्तो लाग्छ।

जसले जिते पनि ठिक छः कृष्णहरि बराल
म त यसै भन्न सक्दिनँ। त्यसको पनि विभिन्न कारण र आधार हुन्छन्। अर्को कुरा जजको नजरमा पर्नु नै जित हो। दर्शकको पनि हात हुन्छ। प्रतिस्पर्धामा चल्ने कोही पनि कमजोर हुँदैनन् र छैनन् पनि। मेरो २ वटा गीत मनोनयनमा परेकाले पनि मेरो सम्भावना ६० प्रतिशत छ भन्ने हो। तर अवार्ड जसले जिते पनि ठीक छ।

मलाई त थाहा छैनः स्वरूपराज आचार्य
मलाई त थाहा छैन। मैले सबै गीत नै सुनेको छैन। गीत सुनेर क्रिटिकल्ली भन्नुपर्ने हुन्छ। सर्वोत्कृष्ट गायकको उपाधि जसले पाए पनि संगीतकर्मीले नै पाउने हो। संगीतकै जित हुने हो। वर्षभरि यति धेरै गीतहरू आएका छन्। तीमध्येबाट नोमिनेसनमा परेर टप ५ मा पर्नु नै एक प्रकारको जित हो।

मेरोजस्तो गीत कम छः प्रल्हाद तिमल्सिना
त्यो त जुरीको निर्णयमा भर पर्ने कुरा हो। गीतको चर्चाको आधारमा दिने हो कि कामको आधारमा दिने हो, त्यसमा भर पर्छ। भोटमा पनि भर पर्छ। भन्नै पर्दा मलाई त मेरो नै मन पर्छ र मैले जित्नुपर्छ जस्तो लाग्छ। अरूको पनि राम्रो छ। तर मैले गाएको जस्तो प्याटर्नको गीत त धेरै कम छ नि।

चान्स सबको छः युवराज चौलागाईं
यो प्रश्न आफैमा पावरफुल छ। सर्वप्रथम त उत्कृष्ट ५ मा पर्नु नै एक किसिमले जित हो। सबैजना उत्कृष्ट नै छन्। आफूले पाउँछु कि भन्ने फिल त हुन्छ नै। सबै राम्रो हुनुभएकाले चान्स सबैको उस्तै छ।

अञ्जुले जित्नुहुन्छः मेलिना राई
बेस्ट गायिकाको अवार्ड त स्योर अञ्जु पन्त दिदीले जित्नुहुन्छ। किनभने हामीभन्दा उहाँ निकै सिनियर पनि हो। उहाँले गाउनुभएको गीतले रेकर्ड ब्रेक गरेको पनि छ। धेरैले मन पराएको गीत र गायिका भएको कारणले अञ्जु दिदीले नै यो अवार्ड पाउनुहुन्छ। मलाई दर्शकले गर्ने माया त आफ्नो ठाउँमा छ नै र पनि गीत हिट भएको आधारमा त स्योर हो अञ्जु दिदीले जित्नुहुन्छ।

अडियन्स र जजमा भर पर्छः इन्दिरा जोशी
कसले अवार्ड जित्छ भन्ने कुरा त अडियन्स र जजमा भर पर्छ। म नामै तोकेर त भन्न सक्दिनँ। जसले पनि जित्न सक्छ नि।

अवार्ड मैले पाउँदिनँः निखिल उपे्रती
नवनिर्देशकको अवार्ड मैले जित्दिनँ, अरूले नै जित्छन्। कसले जित्छ थाहा भएन। म उहाँहरूजस्तै अवार्ड पाउन लायक भैसक्या छैन। मैले दर्शकले दिने अवार्ड त पाई नै सकें, उहाँहरू हलसम्म आएर साथ दिइसक्नुभयो।

भन्नै गाह्रो छः निर्मल शर्मा
फिल्म चलेको आधारमा दिने हो भने त मेरो फिल्म नवनिर्देशकको क्याटोगरीमा पर्नेहरूको जति चलेन, तर मैले यो फिल्ममा धेरै नै मेहनत गरेको छु र फिल्म पनि राम्रो बनेको छ। ९ जना बालबालिकालाई ४५ दिनको वर्कशप गराएर मात्र यो फिल्म बनाएको हो। यो फिल्मले राज्यबाट पनि धेरै सम्मान प्राप्त गरेको छ। सञ्चारमन्त्रायले सम्मान गरेको फिल्म हो। नोमिनेसनमा परेपछि अवार्डको आश हुन्छ नै, तर कसले जित्छ भन्नै गाह्रो छ।

आपैले जित्छु किः घनश्याम लामिछाने
त्यो त जजको हातमा हुन्छ। तर पनि म आफै जित्छु जस्तो लाग्छ नि। व्यावसायिक रूपमा हेर्नु पर्दा निखिल उपे्रती र भुवन केसीको फिल्महरू चलेको छ। उहाँहरू पुरानो कलाकार पनि हो। म उहाँहरूलाई नयाँ भन्न चाहन्न। साँच्चिकै नव निर्देशकलाई नै दिने हो भनेचाहिँ म र प्रणव जोशी यो अवार्डको दाबेदार हौं जस्तो लाग्छ।

मेरो काम राम्रो छः शंकर शाही ठकुरी
नवअभिनेताको अवार्ड त म आफै नै विन गर्छु जस्तो लाग्छ नि। कामको मूल्याङ्कन गरेरै अवार्ड दिने भए त मैले नै पाउँछु। फिल्म चलेको आधारमा दिने हो भनेचाहिँ अन्यले पाउलान्। तर मैले धेरै नै राम्रो काम गरेको छु। मैले एउटा डेब्यु एक्टरको जस्तो हैन, पुरानोले जस्तो गरी काम गरेको छु। धेरै हिसाबले मेरो काम राम्रो छ। त्यसकारण मैले नै जित्छु जस्तो लाग्छ।

सबैको काम राम्रो छः प्रेम पुरी
नोमिनेसनमा पर्ने सबैको काम राम्रो छ। यसमा पर्नु भनेकै विजेता हुनु हो। नोमिनेशनमा परेपछि बाजी मार्छु कि भन्ने आशा त हुन्छ नै। तर जुरी र दर्शकको नजरमा पर्नेले नै जित्छ अवार्ड त। ५ जना नै एक अर्काको प्रतिस्पर्धी हुन् र विजेता पनि। यसले नै जित्ला त भन्न नै सकिँदैन फिल्म हेरेर अवार्डको हिस्सेदार बनाएकामै कामनाप्रति आभारी छु।

सबै दाबेदारः सुवास पराजुली
मसँग नोमिनेशनमा हुनुभएका साथीहरूको फिल्महरू हेरें। सबैजना एकदम ट्यालेन्ट हुनुहुन्छ। मैले जिते भने खुसी नै छु, अरूले जिते भने पनि खुसी नै हुनेछु। सबैजना एउटै कुरामा ट्यालेन्ट हुन्छन् भन्ने छैन, फरक फरक क्षमता हुन्छ सबैमा। यसकारण सबैजना अवार्डको दाबेदार हुन्।

पाए लिन्छु, नत्र तालीः वर्षा राउत
त्यो कुरा जुरी मेम्बरहरूलाई थाहा हुन्छ नि मलाई के थाहा। मैले पाएँ भने गएर लिन्छु, अरूले पाए भने बसेर ताली बजाउँछु।

साम्राज्ञीले जित्छिन्ः आँचल शर्मा
मेरो विचारमा साम्राज्ञी (राज्यलक्ष्मी शाह) ले जित्छिन्। उनले नजितेचाहिँ वर्षाले जित्छ। आफूले नै जिते हुने जस्तो त लाग्छ नै, तर नाइँ नभन्नु ल ४ मा मेरो पार्ट थोरै छ वर्षाको धेरै छ। त्यसकारण यो फिल्मबाट डेब्यु गर्ने हिरोइनले अवार्ड पायो भने वर्षाले नै पाउँछ। नत्र साम्राज्ञीले पाउँछ।

साम्राज्ञीले नै पाउँछ होलाः वर्षा राउत (काफल पाक्यो)
खै आइडिया नै भएन। साम्राज्ञीले पाउँछ होला नि। सोचेको जस्तो हुँदैन। फिल्म बनेको भन्दा पनि चलेको आधारमा अवार्ड दिने भएकाले उसले नै जित्छ जस्तो लाग्छ।

मेरो सम्भवाना बलियो छः शंकर बिसी
यो वर्षकै बढी चलेको गीत सुर्के थैली भएकाले र यसको युट्युब भ्युअर्स नै एक करोड ३० लाख भएकोले म आफूलाई एउटा बलियो प्रतिस्पर्धीको रूपमा लिन्छु। हुन त अरूको पनि काम धेरै राम्रो छ, तर यो गीत चलेका आधारमा चाहिँ यही गीतबाट मेरो सम्भावना धेरै छ।

भन्न सकिँदैनः कविराज गहतराज
टप ५ मा पर्नु नै अवार्ड पाउनुसरह हो। राम्रो भएर नै सबैजना टप ५ मा परेको हो। त्यसैले भन्न सकिँदैन।

हिमाल केसी नै हुनुपर्छः हिमाल केसी
यो त जुरीको मूल्याङ्कनमा भर पर्छ। भैरव एक्सन मुभी भएका कारण द्वन्द्व निर्देशकको दाबेदारचाहिँ हिमाल केसी नै हुनुपर्छ। अरूको पनि काम राम्रो होला, तर चलेको फिल्म भएको र दर्शकले मन पराएको कारण हन्ड्रेड पर्सेन्ट उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड मैले नै पाउँछु।

भन्न सकिन्नः सूर्य थोकर
नोमिनेशनमा परेपछि एउटा आशा त हुन्छ नै, तर प्रतिस्पर्धामा कसले जित्छ भन्नै सकिन्न। नोमिनेसनमा पर्नु भनेकै ठूलो कुरा हो। आआफ्नो ठाउँबाट सबैले मेहनत गरेका छन्। त्यसैले भन्न सकिन्न।

जसलाई दिए पनि ठीक छः रोशन श्रेष्ठ
खास अवार्डमा रुचि त छैन। हामीलाई त काम पाए राम्रो हो। नेपालको अवार्डहरूमा भर नै लाग्दैन। जुरीले हेरेर जसलाई दिए नि ठीक छ। मभन्दा पनि नयाँ भाइहरू र मभन्दा सिनियरहरूले पाए खुसी हुन्छु। वडा नं ६ मा हल्काफुल्का कमेडी एक्सन छ, यस्मा भन्दा अन्य फिल्महरू मा एक्सन छ।

दीपाश्रीले जित्नुहुन्छः गीता अधिकारी
मेरो विचारमा त सहअभिनेत्रीको अवार्ड दिपा (श्री निरौला) दिदीले नै जित्नुहुन्छ जस्तो लाग्छ। पहिले पनि उहाँले नै जित्नुभएको हो। व्यक्तिले भन्दा पनि क्षमताले हो अवार्ड पाउने उहाँहरूको अगाडि त शून्य नै हो उहाँसँग नोमिनेशनमा पर्नु नै ठूलो कुरा हो।

अवार्डपछि थाहा हुन्छः दीपाश्री निरौला
सबैभन्दा पहिले त नोमिनेसनमा पनुै नै अवार्ड हात पर्नु जत्तिकै हो। अहिले त भन्नै सकिन्न। जुरीको नजरमा भर पर्ने कुरा हो। त्यो त अवार्ड पछि थाहा हुन्छ।

काम कदरः विपना बस्नेत
मैले त म नोमिनेसनमा पर्छु भनेर सोचेको पनि थिइनँ। त्यसकारण नोमिनेसनमा पर्नु नै ठूलो कुरा हो। मेरो विचारमा त दीपा दिदीले नै पाउनुहुन्छ जस्तो लाग्छ। मैले पाए त कामको कदर हुने रहेछ भन्ठान्छु नि। तर नपाए पनि त्यस्तो केही छैन।

मलाई आशा छैनः अरूणा कार्की
दीपाश्री र प्रियंका कार्कीमध्येले जित्छ होला। मैले त अहिलेसम्म नोमिनेसनमा परेर पनि कुनै पनि अवार्ड पाएको छैन र आशा पनि छैन।

प्रतिक्रिया दिनुहोस्