अनिललाल छैटौं



काठमाडौं, (नेस)
नेपालका अनिललाल श्रेष्ठ थाइल्यान्डमा भएको आठौं डब्लूबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूहमा छैटौं भएका छन्।

अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए। ८ खेलाडीमध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो। त्यसमा थाइल्यान्डका सोमखित सुमेथोवेत्चाकुन पहिलो, थाइल्यान्डकै सुरासक दोस्रो तथा भारतका राहुल सिन्दाह तेस्रो भए। मलेसियाका अब्दुल रानी चौथो तथा चीनका जाङ झियो यान पाँचौं स्थानमा रहे।

यसै वर्ष पाकिस्तानमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिलले शुक्रबारै मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गरेको थिए। विभिन्न देशका २३ खेलाडी सहभागी मास्टर्समा शीर्ष १५ स्थानभित्र नअटाएपछि अनिल प्रिजजिङ राउन्डबाटै बाहिरिए। त्यस्तै अर्का नेपाली खेलाडी विमललाल श्रेष्ठले स्पोर्ट्स फिजिकसको १७० सेन्टीमिटरसम्म उचाइमा भाग लिएका थिए। १३ राष्ट्रका १८ खेलाडी सहभागी उक्त स्पर्धामा विमल पनि प्रिजजिङ राउन्डबाटै बाहिरिए। विमलले छैटौं संस्करणको सोही स्पर्धामा रजत जितेका थिए।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लूबीपीएफ) को तत्त्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा सो प्रतियोगिता भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्