संरक्षणमुखी नेपालका वन



टीका बन्धन, काठमाडौं
‘हरियो वन नेपालको धन’ का रूपमा कहलिएको वन क्षेत्र संरक्षणमुखी मात्रै हुँदा मुलुकले यथोचित लाभ लिन सकेको छैन। नेपालको यो नारा केवल नारामा मात्र सीमित भएको छ। कुल भू–भागको ४५ प्रतिशतका हाराहारीमा विस्तार भएको वन क्षेत्रको प्रतिफल भने न्यून छ।

वन क्षेत्र संरक्षणमुखी मात्र हुँदा हरित रोजगार, समृद्धिका लागि वन, हरित अर्थतन्त्र, हरित पर्या–पर्यटन, दिगो र वैज्ञानिक वन व्यवस्थापनजस्ता सरकारका नीति तथा कार्यक्रम त्यसै ओझेल परेका छन्।

वन मन्त्रालयका अधिकारीहरू भने संरक्षणमुखी कार्यक्रमलाई जोड दिएर मात्र उत्पादनमूलक कार्यक्रम अघि बढाउँदा परिणाम राम्रो हुने तर्क गर्छन्। अधिकांश वन क्षेत्र पहरा र उर्वराशक्ति न्यून भएका भू–बनोटमा फैलिएकाले त्यस्ता स्थानबाट तत्काल प्रतिफल लिन सक्ने अवस्था नरहेको उनीहरूको तर्क छ।

‘निजी वनको उत्पादन थोरै प्रक्रिया पुर्याएपछि तत्कालै उपभोग गर्न सकिन्छ र बजारमा समेत पुग्छ तर सरकार नियन्त्रितसहित अन्य वनको सवालमा भने भएका नीति र कानुन पालना गर्नुपर्ने अवस्था रहेकाले परिणाममुखी देखिन समय लागेको हुन सक्छ’ –वन मन्त्रालयका एक अधिकारीले भने।

सो मन्त्रालयका निवर्तमान सचिव उदयचन्द्र ठाकुर भने वनको प्रतिफल बढाउन वैज्ञानिक वन व्यवस्थापनको कार्यान्वयनलाई जोड दिनुहुन्छ। ‘बढिरहेको वन क्षेत्रलाई कसरी व्यवस्थित गर्ने र वनको उत्पादन कसरी बजारमा पुर्याउने भन्ने कुरा महत्त्वपूर्ण हो’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

५ वर्ष लगाएर गरिएको पछिल्लो सर्वेक्षणले मुलुकको कुल वन क्षेत्र बढेको देखाएको छ। गत वर्ष सम्पन्न सर्वेक्षणअनुसार मुलुकको कुल क्षेत्रफलमध्ये वनले ४४ दशमलव ७४ प्रतिशत भू–भाग ओगटेको छ। यो तथ्यांक वन र अन्य काष्ठ तथा बुट्यानले समेत ओगटेको क्षेत्र रहेको वन अनुसन्धान तथा सर्वेक्षण विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्