आन्दोलन थप सशक्त बन्दै



नेपाल समाचारपत्र
अर्घाखाँची

५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद् सचिवालयमा दर्ता गराएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेका अर्घाखाँचीबासीले बिहीबार पनि जिल्लालाई पूर्णरूपमा ठप्प पारेका छन्।

जिल्लाबासीहरूले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर सडक अवरुद्ध पारेका थिए। सन्धिखर्कमा बिहीबार बिहान विशाल विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शन सन्धिखर्क बजार परिक्रमा गरी टुँडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णुप्रसाद खनाल ‘मुस्कान’, एमाले उपाध्यक्ष जीवनारायण कोइराला र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले सम्बोधन गरेका थिए। सदरमुकाममा मात्र नभएर गाउँगाउँमा पनि विरोध जुलुस निक्लिरहेका छन्। नागरिक ग्रामीण क्षेत्रबाट आन्दोलन गर्न सदरमुकाम आएका छन्। आज भएको विरोध प्रदर्शनमा उल्लेख्य मात्रामा मानिसहरूको सहभागिता रहेको थियो। बन्दका कारण निजी बैंकहरूसमेत बन्द भएका छन्।

बुधबार जिल्लामा क्रियाशील सबै राजनीतिक पार्टीहरूले प्रदेश टुक्रइउने सरकारको निर्णय गलत भएको भन्दै संयुक्तरूपमा आन्दोलन गर्ने निर्णय गरेका थिए। जनताको चाहना विपरीत ५ नम्बर प्रदेशलाई विखण्डन गर्नका लागि संशोधन विधेयक संसद्मा लगिएको भन्दै पहाडी जिल्ला आन्दोलित बनेका छन्।
५ नम्बर प्रदेशलाई टुक्रइइएको विषयलाई लिएर अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले कडा विरोध गर्नुभएको छ। पाँच नम्बर प्रदेशलाई टुक्रइउन नदिनका लागि आन्दोलनलाई कडा पार्ने यस क्षेत्रका सांसदहरूले चेतावनी दिएका छन्।

सत्तापक्ष माओवादी नेता रायमाझी र गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले खुलेरै विरोध गरिरहेका छन्। उनीहरू नागरिकको पक्षमा उभिएको भन्दै बहुसंख्यक अखण्ड ५ नम्बर पक्षधरहरू खुसी भएका छन्। आन्दोलनका कार्यक्रमहरू तय गर्न १७ गते शुक्रबार बुटबलमा सर्वपक्षीय भेलाको आयोजना गरिने भएको छ। सो कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा प्युठान क्षेत्र नम्बर १ का सांसद वामदेव गौतम, एमाले उपमहासचिव तथा रुपेन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेल, एमाले सचिव तथा गुल्मी क्षेत्र नम्बर ३ का सांसद गोकर्ण विष्ट, माओवादी केन्द्रका संसदीय दलका उपनेतासमेत रहेका अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद रायमाझी, कांग्रेस केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद भण्डारीलगायतका थुप्रै नेताहरू आउने कार्यक्रम रहेको छ। उक्त भेलाबाट थप आन्दोलनका कार्यक्रमको घोषणा गर्ने माओवादी नेता रायमाझीले बताए।

प्रतिक्रिया दिनुहोस्