समुदायमै मिलापत्र भए ५ सय ४७ विवाद



मोतीराम तिमल्सिना, काभ्रे
काभ्रेपलाञ्चोक जिल्लामा शुरू भएको सामुदायिक मेलमिलाप कार्यक्रममा सर्वसाधारणको पहुँच र विश्वास बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ। समुदायमा भएका ६ सय ७० विवादमध्ये ५ सय ४७ वटा समाधान भएका छन्। प्राकृतिक स्रोत द्वन्द्वरूपान्तरण केन्द्र नेपालले सञ्चालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सरिता सापकोटाले समुदायमा भएका विवाद रूपान्तरणका बारेमा जानकारी गराउँदै एक वर्षमा समुदायमा मेलमिलाप केन्द्रले पारेको प्रभावले दिगो शान्ति स्थापनमा सहयोग पुगेको बताइन्।

मेलमिलापका कारण जिल्ला तथा समुदाय स्तरमा मेलमिलापकर्ता र मेलमिलाप केन्द्रप्रतिको विश्वासमा वृद्धि, मेलमिलापकर्ताहरूको व्यक्तित्व विकास, अन्य अवसरहरूको सिर्जना, जिल्लास्तरमा कर्मचारी मागसम्बन्धी गरिएको विज्ञापनहरूमा मेलमिलापकर्ताहरूलाई विशेष ग्राह्यतासहित प्रकाशन, स्थानीयस्तरमा हुने गरेका अनियमिततामा न्यूनीकरणमा सहयोग, प्रतिष्ठामा वृद्धि, न्यायमा पहुँच, सञ्चारमाध्यममा पहुँचलगायतमा मेलमिलापकर्ताहरूले अवसर प्राप्त गरेको सापकोटाले बताइन्।

जिल्लामा ५ सय १४ मेलमिलापकर्ता उत्पादन गरी ७८ मेलमिलाप केन्द्रमार्फत ६ सय ७० वटा विवाद रजिस्टर गरिएको र ५ सय ४७ वटा विवाद रूपान्तरण भएको उनले बताइन्। जिल्लाका सञ्चारकर्मी र मेलमिलापकर्ताबीच भएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएका जिज्ञाशाका बारेमा मेलमिलाप कार्यक्रम संयोजक सापकोटा र मेलमिलापकर्ताहरूले अनुभव सुनाएका थिए।

‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने मूल नारासहित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल भक्तपुरद्वारा द एसिया फाउन्डेसनको आर्थिक सहयोगमा सामुदायिक मेलमिलाप कार्यक्रम सेप्टेम्बर २०१५ बाट सञ्चालन गरिएको हो।
२०७२ को भूकम्पपश्चात् समुदायमा मेलमिलाप कार्यक्रमको अवधारणा अनुरुप गाउँ विकास समितिमा ६ जना र नगरपालिकामा १२ जना मेलमिलापकर्ताहरू उत्पादन गरी समुदायमा भएका विवादलाई जित जितको माध्यमबाट समुदायमै मेलमिलाप गराउने कार्यक्रमको उद्देश्य रहेको संयोजक सापकोटाले बताउनुभयो।

कार्यक्रममा स्थानीय विकास अधिकारी टेकराज निरौलाले कार्यक्रमलाई जिल्ला विकास समितिले थप सहयोग प्रदान गरी तीन गाविस र एउटा नगरपालिकामा फर्निचर र क्षमता अभिवृद्धिमा सहयोग गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्