कनिष्ठ न्यायाधीशको वरिष्ठविरुद्ध उजुरी



नेपाल समाचारपत्र
काभ्रे

उच्च अदालतमा नियुक्ति हुने तयारीसँगै कनिष्ठ न्यायाधीशरुले झगडालुमार्फत सिनियर न्यायाधीशहरूविरुद्ध उजुरी गर्न लगाएको तथ्यहरू बाहिर आउन थालेका छन्। केही न्यायाधीशहरुले अर्काे न्यायाधीशलाई छेक्न कुप्रचार गर्दै समाचारसमेत प्रकाशन गराउन थालेका छन्।

वर्षाैंसम्म उजुरी नदिएका र नपरेका न्यायाधीशहरूविरुद्ध उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारीसँगै उजुरीको वर्षा आउनुलाई केही न्यायाधीशहरूले त्यही रूपमा बुझेका छन्। अदालतमा विभिन्न प्रकरणमा मुद्दा परी हारेका पक्षहरू, ती पक्षका कानुन व्यवसायीहरू तथा कनिष्ठ न्यायाधीशहरूले आफूभन्दा सिनियर न्यायाधीशविरुद्ध उजुरी गर्ने गरेको खुलेको हो। उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि ८ सयभन्दा धेरैले आकांक्षा देखाएका छन्।

यसअघिका प्रधानन्यायाधीशहरुले न्यायपरिषद्मा परेका उजुरीहरूलाई मिति तोकेरै हेर्ने गरेका थिए। ‘नियुक्तिको पूर्वसन्ध्यामा परेका अधिकांश उजुरीहरू पूर्वाग्रहीबाहेक केही हुँदैन।’ –एक पूर्वन्यायाधीशले भने। यसको विश्वसनीयता र गरिमालाई समेत जोगाउन न्यायापरिषद्ले केही महिनाअघि परेका उजुरी मात्रै छानबिन गरी न्यायाधीश नियुक्तिका लागि सहजता अपनाउनुपर्छ।

यतिखेर कानुन व्यवसायी, सरकारी वकिल, पूर्वन्यायाधीशहरू, जिल्ला न्यायाधीशहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूले उच्च अदालतमा नियुक्तिका लागि वैयक्तिक विवरण पेस गरेका छन्। वैयक्तिक विवरण पेस गर्नेहरूबाटै एकले अर्काेलाई छद्म नामबाट उजुरी दिने गरेका छन्। झगडालुमध्ये एक पक्षले हार्ने र एक पक्षले जित्ने अवश्य हुन्छ। त्यस्तो अवस्थामा हार्ने पक्षबाट अनेकथरी लाञ्छना लगाउँदै परिषद्मा उजुरी दिने गरेको पाइएको छ। केही अदालतका कर्मचारीहरूले समेत न्यायाधीशहरूले अदालतभित्रको भ्रष्टाचार रोक्न गरेका कदमविरुद्ध चित्त नबुझेका कारण उजुरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्