प्रतिवेदन गयो, आन्दोलन जारी



अमृत अर्याल, स्याङ्जा
स्थानीय तह पुनर्संरचनाको अन्तिम प्रतिवेदन केन्द्रमा सिफरिस गरिसकेको स्याङ्जा आन्दोलनको चपेटामा परेको छ। ११ वटा स्थानीय तह पुनर्संरचना निर्माण गर्ने अवसर पाएको स्याङ्जाका अधिकांश गाविसका नागरिकहरू आन्दोलनमा छन्।

सुगमताको हिसाबले निर्माण गर्नुपर्ने नयाँ स्थानीय तह पुनर्संरचनामा नागरिकलाई झनै दुर्गमताको बाटो अपनाइएको भन्दै राजनीतिक दलका नेतृत्व र जिल्ला प्राविधिक समितिप्रति असन्तुष्ट व्यक्त गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका हुन्।

जिल्ला प्राविधिक समिति स्याङ्जाले ११ ओटा स्थानीय तह पुनर्संरचना निर्माण गरी केन्द्रीय समितिमा सिफारिस गरेलगत्तै राङ्भाङ् गाविसका जनता आन्दोलनमा उत्रँदै आएका थिए। विभिन्न खाले आन्दोलन सञ्चालन गरी अखण्ड राङ्भाङ्लाई पुतलीबजार नगरपालिकामा गाभ्नुपर्ने माग राख्दै आएका छन्। दैनिकजसो जिल्ला विकास समितिमा धर्ना दिने अभियान स्याङ्जामा बढ्दै गएको छ।

राङ्भाङका जनताको भावना विपरीत गाविसलाई टुक्रइउने खेल भएको भन्दै आन्दोलन गर्नुपरेको राङ्भाङ गाविसका जनताको भनाइ छ। लेनदेनदेखि अत्यन्तै पायक पर्ने पुतलीबजार नगरपालिकामा गाविसलाई नगाभेर अखण्ड गाविसलाई टुक्रइउने काम भएकाले जनचाहना पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीय युवा शिलजंग केसी बताउनुहुन्छ।

राङ्भाङजस्तै दैनिक धर्नामा बसेको स्वरेक गाविसका १, ५, ७ र ९ वडाका जनताले वालिङ नगरपालिकामा गाभ्नुपर्छ भन्दै आन्दोलित भएका छन्। स्वरेक गाविसका केही वडाहरू भिरकोट नगरपालिका र केही वडाहरूलाई वालिङ नगरपालिकामा गाभिएको छ। पायक पर्ने स्थानमा वडालाई मिलाउनुपर्नेमा झनै दुर्गमतातर्फ वडा गाभिएको भन्दै स्थानीयहरू चरणबद्ध आन्दोलनमा छन्।

यता ज्याग्दोखोला गाउँपालिकाको माग गर्दै क्याक्मी, मल्याङ्कोट, चिन्नेबास र सेखाम गाविसका जनताले वालिङ बजारमा र्याली निकालेर आन्दोलन गरेका छन्। एक घण्टा चक्काजाम गरी सो गाविसका जनताले नारा जुलुससहित र्यालीपछि जिल्ला प्राविधिक समितिलाई ज्ञापनपत्र बुझाएका छन्। ज्याग्दीको इतिहास मेट्ने प्रयास गरिएको छ नेपाली कांग्रेस वालिङ नगर समितिका सभापति दिलिपप्रताप खाँणले भन्नुभयो– ‘आन्दोलनरतहरूलाई ज्याग्दी खोला गाउँपालिका नभएसम्म वालिङ नगरपालिकाले साथ दिनेछ। तपाईंहरूको आन्दोलनले सार्थकता पाउनेछ।’ अन्तिममा ज्याग्दीखोलाको हितमा निर्णय हुनेछ भन्दै खाँणले नेताहरूले पनि यस विषयमा ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो। केन्द्रमा नक्सांकनको काम शुरू भइसक्दासमेत आन्दोलन नरोकिनु दुःखद पक्ष भएको धेरैको भनाइ छ।

जिल्ला प्राविधिक समितिले पठाएको स्थानीय पुनर्संरचना प्रतिवेदन केही अवैज्ञानिक भए पनि धेरै गाविसका नागरिक भने खुसीयाली देखिएका छन्। सधैं पायक पर्ने वालिङ र माझकोट गाविसको साइनोलाई यथावत् राखेकामा माझकोट गाविसका जनता भने खुसी भएका छन्। माझकोट गाविसका जनताले गरेको निर्णयलाई स्थानीय प्राविधिक समितिले चासोका साथ प्राथामिकता दिएको स्थानीय भोजराज गुरुङ बताउनुहुन्छ।

यता सांसद धनराज गुरुङले भने स्याङ्जाबासीहरूलाई नआत्तिन आग्रह गर्नुभएको छ। नयाँ संरचनामा जाँदा केही कठिनाइ हुने भएकाले स्याङ्जाबासीको हितमा हुने गरी स्थानीय पुनर्संरचना हुने गुरुङको भनाइ छ। केही जनताको भावना विपरीत पुनर्संरचना भएको भन्ने आफूले सुनेको र यसलाई सच्चाउन पनि आफ्नो तर्फबाट पहल हुने सांसद गुरुङको भनाइ छ। सबैको भावना समेट्ने प्रयास गर्दागर्दै केही मात्र अपुग भएको प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी महेश भट्टराई बताउनुहुन्छ।

स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका बन्ने गरी जिल्ला प्राविधिक समितिले सिफारिस गरेको छ। पुतलीबजार, भीरकोट, वालिङ, चापाकोट र गल्याङ नगरपालिका हुने गरी सिफारिस गरेको छ। गल्याङ नगरपालिका भने नयाँ प्रस्तावित नगरपालिका हो। आँधीखोला, अर्जुनचौपारी, फेदीखोला, बिरुवा, हरिनास र मिर्मि गाउँपालिका रहने गरी सिफारिस गरेको छ। अहिलेसम्म पुतलीबजारमा र वालिङ नगरपालिकामा गाभ्नुपर्ने माग राख्दै अधिकांश गाविसहरूले आन्दोलन गर्दै आएका छन् भने ज्याग्दी गाउँपालिका बन्नुपर्ने माग राख्दै ५ गाविसका जनता आन्दोलनमा छन्। मनकामना, पकवादी, निबुवाखर्क, कालिकाकोटलगायतका गाविसहरूले पायक पर्ने स्थानमा गाभ्नुपर्ने माग राख्दै जिल्ला प्राविधिक समितिलाई ज्ञापनपत्र बुझाइसकेका छन्। सबैको माग सम्बोधन गर्न सम्भव नभए पनि केही हेरफेर आवश्यक रहेको राजनीतिक दलहरूको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्