कांग्रेसका मधेसी सांसदले भने– एमालेको दोहोरो चरित्र देखायो



नेपाल समाचारपत्र
काठमाडौं

सरकारले हालै दर्ता गरेको संघीय प्रदेशको सीमांकन परिवर्तनसहितको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि नेपाली कांग्रेसको मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले नेकपा एमालेलगायत सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। साथै उनीहरूले आफैंले हस्ताक्षर गरेको राजनीतिक दस्तावेजलाई राष्ट्रघातको संज्ञा दिनु एमालेको दोहोरो चरित्र भएको टिप्पणी गरेका छन्।

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २७ जना सांसदहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी संविधान संशोधन प्रस्तावमा समेटिएको सीमांकन परिवर्तनको प्रस्ताव कुनै नयाँ रचना नभई दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको राजनीतिक दस्तावेज भएको दाबी गरेका छन्।

हाल दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोध गर्न नेकपा एमालेको कुनै पनि धरातलीय आधार नदेखिने भन्दै उनीहरूले एमालेलाई संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका छन्। कांग्रेसका सांसदहरू फरमुल्लाह मन्सुर, अमरेशकुमार सिंह, महेन्द्र यादव, रामचन्द्र चौधरी, सुरेन्द्रप्रसाद यादव, शान्तिदेवी चौधरीलगायतका सांसदहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘संविधानप्रति असन्तुष्ट मधेसी दलहरूको माग सम्बोधन र निश्चित समयसीमाभित्र तीन तहको निर्वाचन गर्न संविधान संशोधन अपरिहार्य छ।

आधा जनसंख्या बसोबास गर्ने मधेसलाई उपेक्षा गरेर अघि बढ्न नसकिने भन्दै उनीहरूले संविधानमा व्यवस्था भएअनुरूप २०७४ साल माघ ७ गतेभित्र संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र संविधान संशोधनको विपक्षमा नलागी संविधान कार्यान्वयनको बाटोमा लाग्न पनि एमालेलाई उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्