१६ दिनमा पनि खुलेन हत्याको रहस्य



नवीन श्रेष्ठ, सिन्धुली
देशमा महिला हिंसाविरुद्धको १६ दिने अभियानमा महिलाको अधिकारको पक्षमा नारा घन्की रहँदा सिन्धुलीको खुर्कोटमा कत्तिक ३० गते भएको तुलसा चौलागाईंको शंकास्पद मृत्युको घटनाले तरङ्गित भइरहेको छ।

भीमेश्वर गाविसकी तुलसा चौलागाईं घर नजिकै कुलोमा मृत अवस्थामा भेटिएकी थिइन्े। यस घटनाको पक्ष र विपक्षमा अहिले भीमेश्वरबासी विभाजित भएका छन् र जिल्ला प्रहरी कार्यालय धाइरहेका छन्। घर पक्षले नुहाउन जाने क्रममा घर नजिकै कुलोमा लडेर ज्यान गएको भनेका छन् भने छिमेकी, महिला अधिकारकर्मीहरू तुलसाको परिवारले हत्या गरेको भनिरहेका छन्।

पीडित पक्षले घरमा मृतकको देवर हरिप्रसाद चौलागाइं, देवरानी सम्झना अधिकारी चौलागार्इं र ससुरा यज्ञप्रसाद चौलागाईंको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले हरिप्रसाद चौलागाईंलाई मात्र नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टम गरी परिवारलाई बुझाइसकेको र रिपोर्ट आउन बाँकी रहेकाले पोस्टमार्टम रिपोर्टअनुसार थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहराले बताउनुभयो।

बिहीबार भीमेश्वर खुर्कोटका महिलाहरू तुलसा चौलागाईंको हत्याको निश्पक्ष छानविन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा डेलिकेसन आएका छन्। भीमेश्वर लैंगिक हिंसा नियन्त्रण महिला सञ्जालका महिलाहरू घरेलु हिंसाबाट पीडित तुलसामाथि भएको घटनाको चाँडो र निश्पक्ष छानविन गर्न माग गरेका हुन्। सञ्जालका अध्यक्ष आशा श्रेष्ठको नेतृत्वमा आएका २० जना महिलाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको लैंगिक हिंसा नियन्त्रण डेक्समा उजुरी दर्ता गराएका छन्।

पटकपटक कुटपिट गर्ने तुलसाका देवर हरिप्रसाद, देवरानी सम्झना र ससुरा यज्ञप्रसादलाई नियन्त्रणमा लिई कारबाही गर्न माग गरिएको छ। उनीहरूले १६ दिन हँुदासम्म पनि पोस्टमार्टम रिपोर्ट ल्याउन आलटाल गरेको भन्दै पैसाको दबाबमा महिलामाथि भएको हिंसा लुकाउन खोजिएको भन्दै चाँडो सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

घटनाको प्रकृति हेर्दा शरीरभरि नीलडाम र घाउचोट देखिएको र घटना हुनुपूर्व मृतक तुलसाले आफूलाई मार्दै छन् भन्ने कुरा गरेकाले तुलसाको हत्या नै भएको उनीहरूले दाबी गरेका छन्। करिब ५ वर्षदेखि उनीमाथि घरेलु हिंसा हुने गरेको र श्रीमान् प्रहरीमा भएकाले इज्जत जाने भन्दै कुनै ठाउँमा उजुरी नगरेको छिमेकी चन्द्रकला देवकोटाले बताउनुभयो। ‘श्रीमान् भर्खर बढुवा हुँदै छन्, परिवारको इज्जत जान्छ भन्दै पटकपटक देवर, देवरानी र ससुराले कुटेको घाउचोट देखाउन उजुरी गर्न मानेकी थिइनन्’ –देवकोटाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्