बाँकेमा एड्सबाट ९९ जनाको मृत्यु



नेपाल समाचारपत्र
बाँके

बाँकेमा एड्सबाट ९९ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अनुसार, जिल्लामा अहिले ८ सय ६८ जना एचआईभी संक्रमित रहेका छन्। २९औं विश्व एड्स दिवस मनाइरहँदा बाँकेमा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको तथ्यांक आएको छ।

बाँकेमा वर्षमा ७९ जना संक्रमित हुने गरेका छन्। आर्थिक वर्ष २०७२⁄०७३ मा ७९ जना संक्रमित भएको जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले जानकारी दिनुभयो। त्यसमध्ये ५३ जना पुरुष र २६ जना महिला थिए।

असुरक्षित यौन सम्पर्कका कारण ८५ प्रतिशत संक्रमित भएका छन्। सुईबाट लागूपदार्थ लिने व्यक्तिहरू र प्रवासी कामदारहरू पनि संक्रमित रहेका छन्। बाँकेमा ४ सय ८७ जना पुरुष, ३ सय ६८ जना महिला, १३ जना तेस्रो लिंगी गरी ८ सय ६८ एचआइभी संक्रमित छन्। यहाँ एआरभी खाने ३ सय ८९ जना रहेका छन्।

नेपालमा प्रति हजारमा दुई जना संक्रमित हुने गरेका छन्। नेपालमा ३९ हजार ३ सय ९७ जना संक्रमित रहेको अनुमान छ। आर्थिक वर्ष २०७२⁄०७३ मा १२ हजार ४ सय ४६ जना संक्रमित एआरभी उपचारमा रहेको तथ्यांक बाहिर आएको छ।
२९औं विश्व एड्स दिवसका अवसरमा बाँकेमा बिहीबार र्याली, बसपार्कमा कन्डम बक्स स्थापना र संक्रमितका बच्चालाई सहयोग गरिएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशक रीता जोशी, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले संक्रमण घटाउनका लागि सचेतनामूलक कार्यक्रममा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्