पाल्पामा आन्दोलनका कार्यक्रम सार्वजनिक



पाल्पा, (नेस)

सरकारले पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउने गरी संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेपछि पाल्पामा विरोध प्रदर्शन भएको छ।

प्रदेश नम्बर ५ बाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमलाई प्रदेश नम्बर ४ मा राख्ने सीमाड्ढन प्रस्तावप्रति पाल्पाका राजनीतिक दलले उक्त संशोधन प्रस्तावको विरोध र प्रदेश टुक्रइउन नहुने भन्दै दिउँसो १ बजेदेखि तानसेन बजार बन्द गराएका थिए भने पाल्पामा क्रियाशील विभिन्न दलहरूको संयुक्त बैठक बसेर सीमांकन हेरफेरको प्रस्ताव हिमाल, पहाड र तराइलाई अलग गराउने सुनियोजित योजनाबमोजिम भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ। पाल्पाली जनताको हित विपरीत आएको प्रदेश नं ५ विभाजित गर्ने प्रस्तावको विरोधमा नेकपा माओवादी केन्द्रबाहेक अन्य क्रियाशील दल, उद्योग वाणिज्य संघलगायत सर्वदलीय सर्वपक्षीय बैठकले सशक्त दबाबमूलक आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो।

दलहरूले सम्पूर्ण पाल्पाली जनसमुदायलाई आन्दोलनका कार्यक्रममा सक्रिय सहभागी हुन आह्वानसमेत गरेका छन्। दलहरूले तानसेन बजार बन्द, विरोध प्रदर्शन, बृहत् भेला तथा अन्तरक्रिया, प्रदेशस्तरीय सभा, १८ गते शनिबार पाल्पा बन्दको घोषणा गरेका छन्। प्रमुख विपक्षी एमाले यसअघि नै आन्दोनमा होमिएको थियो। सत्तारूढ दल कांग्रेसका पाल्पा सभापति वीरबहादुर रानाले संविधान संशोधनमा सीमांकनका विषयमा विरोध गर्न आफू तयार भएको बताउनुभयो। कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद हरिप्रसाद नेपालले समेत आन्दोलनमा होमिनुको विकल्प नभएको भन्दै दलहरूलाई आन्दोलनमा जान आग्रह गर्नुभयो। दलहरूले निर्णायक आन्दोलन गर्ने र प्रदेशलाई टुक्रइउन नदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्