नेपालले थाइल्यान्डलाई हराउन सकेन



नेपाल समाचारपत्र
काठमाडौं

नेपाली महिला क्रिकेट टोलीले आफनो स्तरको टोली थाइल्यान्डलाई पनि हराउन सकेन । थाइल्यान्डमा जारी एसीसी महिला टी २० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आयोजकसँग बिहीबार पराजित भयो । बैंककस्थित एसियन इन्सच्युट अफ टेक्नोलोजी मैदानम नेपाललाई थाइल्यान्डले ८ विकेटले हराएको हो ।

६ टोली सहभागि उक्त प्रतियोगितामो चौथो लगातार हारसँगै नेपाल अन्तिम स्थानमा रहने पनि पक्का भएको छ । नेपालले यसअघि टेस्ट मान्यता प्राप्त टोलीहरु पाकिस्तान, श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो । नेपालले अब प्रतियोगिताकै बलियो टोली भारतसँग आफनो अन्तिम खेल खेल्नेछ ।

पहिल्यै ब्याटिङ कमजोर भएर निरासजनक नतिजा आत्मसात गरेको नेपालले थाइल्यान्डलाई हराएर इज्जत जोगाउन असफल भयो । नेपालले त्यसो त यसअघि विश्वकप महिला टी २० एशियन छनोटमा पनि थाइल्यान्डसँग पराजय बेहोरेको थियो । त्यस्तै यही एसिया कप शुरु हुन अगाडि वार्म अप खेल खेलेकोमा पनि नेपाल यही प्रतिद्वन्द्वीसँग पराजित भएको थियो । हिजोको हार समेत गरी नेपाल थाइल्यान्डसँग लगातार चार खेलमा हारेको छ ।

नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । जसमा १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर ६३ रन बनाएको थियो । नेपाली टोलीले पहिलो पटक प्रतियोगितामा ५० रन कटाएको थियो । यसअघि नेपालले पाकिस्तानसँग ४७, श्रीलंकासँग २३ र बंगलादेशसँग ४१ रन बनाएको थियो । नेपाली टोलीको हारको सबैभन्दा प्रमुख कारण खेलाडीहरु दोहोरो अंकमा नपुग्नु नै हो । यो खेलमा पनि नेपालकी एक मात्र ब्याटसओमेन दोहोरो अंकमा पुगिन् । उनी हुन् ओपनरमा आएकी विकेटकिपर ज्योति पाण्डे । उनले २६ बलमा दुई चौकाको सहयागमा १६ रन जोडेकी थिइन् ।

यसै गरी अर्की ओपनर सीता रानामगरले बोल्ड हुन अगाडि ९ रन बनाइन् । इन्दु बर्माले एक रन, नेरी थापाले ७ रन, कप्तान रुबीना क्षेत्री बेलबासीले ८ रनको योगदान दिए । बेलबासीले एक चौका पनि प्रहार गरिन् । यसैगरी रश्मी चौलागाई १, काजल श्रेष्ठ २, सरिता मगर ४ रनमा आउट भए भने करुणा भण्डारी र संगीता राईले २⁄२ रनमै चित्त बुझाए ।

नेपालले दिएको ६४ रनको लक्ष्य थाइल्यान्डले दुई विकेटको क्षेतिमा १६ ओभरमा भेटाएको थियो । नेपाली बलरले पहिलो विकेट लिन नै ढिलो गरेको थियो । १२ औं ओभरको अन्तिम बलमा सरिता मगरले थाइ टोलीकी ओपनर नटाकन चन्टम (२४ रन) लाई आउट गरिन् । यतिबेला ४६ रन थियो । त्यसपछि ६१ रन हुदा सरिताले नै दोस्रो विकेट लिइन । सीरीन्टरा साइन्गसाकओराट २७ रनमा नटआउट रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्