सूचनामैत्री विद्यालय बनाउन सर्कुलर



यज्ञराज थापा, दैलेख

दैलेख जिल्लाका हरेक सामुदायिक विद्यालयलाई सूचनामैत्री बनाउने अभियान शुरू गरिएको छ। जिल्ला शिक्षा कार्यालय दैलेखले यस कार्यलाई अभियानका रूपमा अगाडि लैजान हरेक सामुदायिक विद्यालयलाई सर्कुलर गरेको जनाएको छ।

हरेक क्षेत्र सुशासन र पारदर्शितामा अगाडि बढिरहेको अवस्थामा सामुदायिक विद्यालयहरूले पनि त्यस्ता कार्यलाई अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएकाले अभिभावकलगायत सरोकारवालाले अब हरेक सामुदायिक विद्यालयको हरेक सूचना सहज रूपमा प्राप्त गर्न सूचनामैत्री विद्यालयको अवधारणा कार्यान्वयन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी विष्णु अधिकारीले जानकारी दिनुभएको छ। उहाँले जिल्लाका दुर्गम स्रोतकेन्द्र स्तरीय बैठकहरूमा सहभागी भई सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सूचनामैत्री विद्यालय निर्माण गर्न सामूहिक निर्देशनसमेत दिइएको बताउनुभएको छ।

सामुदायिक विद्यालयको अनुगमनका क्रममा जिशिअ अधिकारीले आधारभुत र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूलाई तत्काल विद्यालयमा सूचना अधिकारी तोक्न समेत निर्देशन दिनुभएको बुझिएको छ। राजनैतिक दलको दबाब बेहोर्न बाध्य सामुदायिक विद्यालयले अबदेखि उजुरीपेटिका राख्नुपर्ने, २५ हजारभन्दा माथिको खर्च विवरण सूचना पाटीमा टाँस गर्नुपर्ने जस्ता कुरा अनिवार्य अवलम्बन गर्न र त्यसका लागि विद्यालय व्यवस्थापन समितिसँग परामर्श गर्न सल्लाह दिइएको छ।

सामुदायिक विद्यालयका बारेमा परेका उजुरीका बारेमा व्यवस्थापन समितिको बैठक राखी तत्काल उजुरी फछ्र्यौट गर्नुपर्ने पनि जिशिअ अधिकारीले निर्देशनका क्रममा जानकारी गराउनुभएको छ। जिल्लाको साक्षरता दर ९५ प्रतिशत पुगेको र हरेक सामुदायिक विद्यालयले यस कार्यमा धेरै ठूलो सहयोग पुर्याएको बताउँदै जिशिअ अधिकारीले अब दैलेखलाई केही महिनाभित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भएकाले सामुदायिक विद्यालयसँगै सबै क्षेत्रले आआफ्नो ठाउँबाट सहयोग पुर्याउन आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्