नेपालकै लामो गेरुवा पुलमा चक्काजाम



विष्णु तिमिल्सिना, बर्दिया

कोठियाघाटस्थित नेपालकै लामो गेरुवा (कर्णाली) पक्की पुलमा स्थानीयबासीले अनिश्चित्कालीन चक्काजाम गरेका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। बर्दियाको खैरीचन्दनपुर गाविसलाई उत्तरका गाविससँग जोडेर गेरुवा गाउँपालिका बनाउन प्रस्ताव गरेको विरोधमा त्यस क्षेत्रका स्थानीयले चक्काजाम गरेका हुन्।

स्थानीय विकास पुनर्संरचना प्राविधिक समिति र राजनीतिक दलहरूले स्थानीयको मागअनुसार खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा समावेश नगरेकाले त्यसको विरोधमा चक्काजाम गरेका हुन्। जिल्लास्तरीय प्राविधिक सहयोग समितिले खैरीचन्दनपुर गाविसलाई पाताभारमा जोड्दै गेरुवा गाउँपालिका बनाउने प्रस्ताव जनचाहना विपरीत रहेको आन्दोलनका सदस्य मुक्ति पौडेलले बताउनुभयो।

बन्दकर्ताले कूटनीतिक नियोग र अत्यावश्यक सवारीसाधनको आवागमन खुला गरिए पनि भाडाका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा जोड्दा खैरीचन्दनपुरबासीलाई पायक पर्ने उनको भनाइ छ। पाताभार गाविस अपायक पर्ने भएकाले अविलम्ब निर्णय सच्चाउनुपर्ने उनले बताए।

खैरीचन्दनपुर, मनाउ, पाताभार, गोला र पशुपतिनगर गाउँ विकास समितिलाई गेरुवा गाउँपालिका बनाउने प्रस्ताव प्राविधिक सहयोग समितिले पुनर्संरचना आयोगमा पठाइएको छ। प्रस्तावित गेरुवा गाउँपालिकाको जनसंख्या ४२ हजार छ भने खैरीचन्दनपुर गाविस समावेश नगर्दा ३४ हजार मात्र हुने आयोगको मापदण्डअनुसार गाउँपालिका हुन ६ हजार जनसंख्या कम हुनेछ।

खैरीचन्दनपुरबाट राजापुर जान १२ किलोमिटर र प्रस्तावित गेरुवा गाउँपालिकाको पशुपतिनगर केन्द्रमा जान १६ किलोमिटर दूरी रहेको छ। स्थानीय विकास अधिकारी तेजराज शर्माले राजनीतिक दलहरूको सहमतिअनुसार नै प्राविधिक समितिले सिफारिस पठाएकाले उनीहरूसँग भएको छलफलअनुसार नै आवश्यक निर्णय गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्