महिलालाई एकै ठाउँमा सीमित गरियोः झा



नेपाल समाचारपत्र
काठमाडौं

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकमारी झाले नेतृत्व गर्ने महिलाको संख्या बढे पनि महिलालाई एउटै कुरामा सीमित राख्ने अवस्था रहेको बताउनुभयो।

जागरण नेपालले आयोजना गरेको राज्य र प्रमुख राजनीतिक दलहरूका नीतिहरूमा लैंगिक समानताको अवस्था पुनरवलोकनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति झाले राजनीति नेतृत्वमा पुगेका महिलालाई एउटै काममा सीमित राख्ने गरेको गुनासो गर्नुभयो।

एउटा समितिको जिम्मा ल्याएको पुरुषलाई अन्य जिम्मेवारी सुम्पे पनि महिलालाई भने एउटै गरे भैहाल्यो भन्ने सोचमा परिवर्तन आउन नसकेको उहाँको अनुभव छ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका सांसद कमला पन्तले देशको तीन प्रमुख नेतृत्वमा रहेका महिलालाई एकै ठाउँमा राखेर महिला सहभागिताका बारेमा छलफल चलाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै सांसद पन्तले भन्नुभयो– ‘लैंगिक समानताका लागि तीन जना महिला कतिपटक एक ठाउँमा बस्नुभयो त? त्यो सोध्न जरुरी छ।’

त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका सांसद धर्मशिला चापागाईंले स्थानीयस्तरबाट नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो। राजनीति दलका घोषणापत्र सहभागिताका हिसाबले राम्रा भए पनि कागजमा भएको कुरा व्यवहारमा लागु हुन नसकेको बताउँदै सांसद चन्दा चौधरीले अब व्यवहारमा परिवर्तन ल्याउन प्रयास गर्ने सुझाव दिनुभयो।

गैरसरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालले सामाजिक संघसंस्थाको नेतृत्वमा महिला पुगे पनि राजनीतिक नेतृत्वमा पुग्न नसकेको बताउनुभयो। काठमाडौं स्कुल अफ लका सहायक प्राध्यापक मिलन धरेलले राज्य र प्रमुख राजनीतिक दलका नीतिहरूमा लैंगिक समानताको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो– ‘आर्थिकरूपमा सम्पन्नता नहुँदा त्यसको प्रत्यक्ष असर राजनीतिक नेतृत्वमा पुगेको छ।’
त्यस्तै जागरण नेपालका निवर्तमान अध्यक्ष शर्मिला कार्कीले राज्यका प्रत्येक निकायमा लैंगिक समानता कायम गर्नका लागि निरन्तर लडाइँ लडिरहने बताउनुभयो। उहाँले अहिलेको उपलब्धि पनि लामो समयको आन्दोलनपछि प्राप्त भएकाले आफ्नो हकका लागि निरन्तर लाग्न सबै महिलालाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्